नेभिगेशन
अर्थतन्त्र

कर्णालीमा विद्युत मर्मत छिटो बनाउन यान्त्रिक क्रेन पठाइने

काठमाडौं । कर्णाली प्रदेशको विद्युत सेवा थप भरपर्दो, नियमित र प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणलाई आवश्यक यान्त्रिक क्रेन उपलब्ध गराइने भएको छ । विद्युत प्राधिकरणको विद्युत वितरण प्रणालीमा आउने समस्या तत्काल समाधान गरी सेवा सुचारु गराउन  यान्त्रिक क्रेन उपलब्ध गराउन लागिएको हो । 
कर्णाली प्रदेशको वितरण प्रणाली कमजोर तथा प्राविधिक चुहावट अधिक रहँदा विद्युत आपूर्ति व्यवस्थापनमा समस्या छ । उपभोक्ताले बिना तालिका विद्युत कटौतीको मार खेप्नु पर्ने बाध्यता रहँदै आएको छ । प्रदेशको विद्युत पहुँच पुगेको सुर्खेतलगायत क्षेत्रमा कमजोर वितरण प्रणालीकै कारण विद्युत लाइन ट्रिपिङका भई पटक–पटक विद्युत आपूर्ति अवरुद्ध हुने समस्या छ । 
 प्राधिकरणले मर्मतका लागि आवश्यक यान्त्रिक क्रेन नहुँदा तत्कालै मर्मत सम्भार गरी आपूर्ति व्यवस्था सुचारु गराउन समस्या रहँदै आएको थियो । प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले आवश्यक उपकरण व्यवस्थापनका लागि माग गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यान्त्रिक क्रेन उपलब्ध गराउने भएको हो । प्रदेश कार्यालयको माग बमोजिम प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा रहेको यान्त्रिक क्रेन आवश्यक सर्भिसिङ तथा अन्य प्रक्रिया पूरा गरी पठाउने तयारी भइरहेको छ । हालसम्म कर्णालीमा विद्युत उपकरण मर्मतका लागि अन्य प्रदेशबाट क्रेन ल्याउनुपर्ने अवस्था रहेकाले विद्युत सेवा पुनःस्थापनामा ढिलाइ हुँदै आएको थियो । अब प्रदेशमै यान्त्रिक क्रेन उपलब्ध भएपछि मर्मत कार्यलाई तीव्रता दिन, विद्युत अवरोधको अवधि घटाउन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्