नेभिगेशन
अर्थतन्त्र

नेपाल बैंकद्वारा रसुवाका दुर्गम क्षेत्रका ९२ विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण

काठमाडौं । नेपाल बैंक लिमिटेड धुञ्चे शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत रसुवाका दुर्गम क्षेत्रका सात सामुदायिक विद्यालयमा अध्ययनरत ९२ जना विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । दुर्गम क्षेत्रका विद्यार्थीको अध्ययनप्रति उत्साह र मनोबल अभिवृद्धि गर्ने उद्देश्यले बैंकले पहिलोपटक यस्तो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । 
नेपाल बैंक लिमिटेड धुञ्चे शाखाका शाखा प्रबन्धक कृष्ण तामाङले ग्रामीण तथा हिमाली क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएर उनीहरूको पठनपाठनमा थप प्रेरणा मिलोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। 
आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी दिए । बैंकले भीमली आधारभूत विद्यालय, पार्वतीकुण्ड आधारभूत विद्यालय (गतलाङ), गोसाइँकुण्ड आधारभूत विद्यालय (आमाछोदिङ्मो), कोमिन श्यामे वाङ्फेल माध्यमिक विद्यालय (स्याफ्रुबेँसी), लिङलिङ प्राथमिक विद्यालय तथा रसुवा माध्यमिक विद्यालय (धुञ्चे) लगायत सात विद्यालयमा अध्ययनरत ९२ जना विद्यार्थीलाई विद्यालय पोसाक, झोला, कापी, कलमलगायत आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । 
कार्यक्रममा विद्यालयका तर्फबाट कोमिन श्यामे वाङ्फेल माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोरकुमार पुरकोटीले नेपाल बैंकले बैंकिङ कारोबारमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्वलाई शिक्षासँग जोडेको भन्दै प्रशंसा गरे। हिमाली तथा दुर्गम क्षेत्रका विद्यार्थीका लागि यस्ता कार्यक्रम निकै उपयोगी हुने उल्लेख गर्दै उनले आगामी दिनमा पनि बैंकले शैक्षिक क्षेत्रमा यस्ता सहयोगलाई निरन्तरता दिनुपर्ने बताए । शाखा प्रबन्धक तामाङका अनुसार नेपाल बैंकले २०३३ सालमा रसुवाको जिल्ला सदरमुकाम धुञ्चेमा शाखा स्थापना गरी सेवा सुरु गरेको थियो। अहिले शाखाले सेवा प्रवाहलाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउँदै अधिकांश बैंकिङ सेवा पाँच मिनेटभित्र सम्पन्न गर्ने व्यवस्था मिलाएको छ । 
धुञ्चे शाखाअन्तर्गत स्याफ्रुबेँसीमा पनि सेवा काउन्टर सञ्चालनमा रहेको छ। शाखाका खजाञ्ची प्रकाश ढकालका अनुसार धुञ्चे शाखाबाट हाल करिब १३ हजार निक्षेपकर्ता, ६०० भन्दा बढी कर्जा ग्राहक तथा पाँच हजारभन्दा बढी नियमित सेवाग्राही लाभान्वित भइरहेका छन् । त्यसैगरी, धुञ्चे शाखाका सहायक प्रबन्धक नारायणप्रसाद अधिकारीले शाखाले व्यक्तिगत बैंकिङ सेवासँगै जिल्लामा रहेका १७ वटा बैंक तथा वित्तीय संस्थालाई आवश्यक नगद (नोट) आपूर्ति गर्ने, सरकारी कार्यालयहरूको भुक्तानी व्यवस्थापन गर्ने तथा राजस्वबापत संकलित रकम सुरक्षित रूपमा व्यवस्थापन गर्ने जिम्मेवारीसमेत प्रभावकारी रूपमा निर्वाह गर्दै आएको बताए । शाखाको छिटोछरितो सेवा प्रवाहबाट सेवाग्राही सन्तुष्ट रहेको उनले उल्लेख गरे । वि.सं. १९९४ मा स्थापना भएको नेपाल बैंक लिमिटेड नेपालको पहिलो वाणिज्य बैंक हो । हाल बैंकका शाखा कार्यालय देशका ७२ जिल्लामा विस्तार भई आधुनिक बैंकिङ सेवा प्रवाह गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्