नेभिगेशन
अर्थतन्त्र

फोटोनको ५ नयाँ शिल्ड सर्भिस पोइन्ट थप, सवारीसाधनको सेवा सञ्जाल २१ स्थानमा

काठमाडौं । फोटोन नेपालले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा पाँच नयाँ आधिकारिक फोटोन शिल्ड सर्भिस पोइन्ट सञ्चालनमा ल्याएको छ । नयाँ सेवा केन्द्र थपिएसँगै कम्पनीको देशव्यापी बिक्रीपछिको सेवा सञ्जाल २१ भन्दा बढी स्थानमा विस्तार भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेवा सञ्जाल विस्तारसँगै देशभरका ग्राहकले आफ्नै क्षेत्रबाट भरपर्दो मर्मतसम्भार, प्राविधिक परीक्षण तथा बिक्रीपछिका अन्य सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन् । 
विशेषगरी विद्युतीय व्यावसायिक सवारीसाधन सञ्चालन गर्ने ग्राहकका लागि स्थानीयस्तरमै गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ सेवा केन्द्र स्थापना गरिएको हो । नयाँ सञ्चालनमा आएका शिल्ड सर्भिस पोइन्टहरूले सम्बन्धित क्षेत्र तथा आसपासका जिल्लामा रहेका फोटोनका ग्राहकलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको विश्वास छ । दैनिक रूपमा सवारीसाधनको भरपर्दो सञ्चालनमा निर्भर रहने शैक्षिक संस्था, ढुवानी तथा लजिस्टिक्स व्यवसाय र अन्य व्यावसायिक सवारीसाधन सञ्चालकका लागि यो सेवा विस्तार विशेष उपयोगी हुने कम्पनीले जनाएको छ । 
फोटोन शिल्ड केयर नेटवर्कमार्फत ग्राहकले नियमित मर्मतसम्भार, सवारीसाधनको प्राविधिक परीक्षण, आवश्यक मर्मत तथा वारेन्टीसम्बन्धी सेवा प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार नयाँ सेवा केन्द्रहरू विद्युतीय सवारीसाधनका लागि आवश्यक आधुनिक उपकरण, दक्ष तथा तालिमप्राप्त प्राविधिक र फोटोनका आधिकारिक जेनुइन स्पेयर पाट्र्ससहित सञ्चालनमा ल्याइएका हुन् । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै गएको अवस्थामा दक्ष प्राविधिक सेवा देशका विभिन्न क्षेत्रमा विस्तार गर्नु आवश्यक रहेको कम्पनीको भनाइ छ । प्रमुख सहरबाहिर पनि सेवा केन्द्र स्थापना गरेर सवारीसाधनको सुरक्षा र विश्वसनीयता बढाउने, सवारीसाधनको आयु लम्ब्याउने तथा सामान्य मर्मतका लागि ग्राहकले लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य कम्पनीले लिएको छ । 
कम्पनीका अनुसार फोटोन शिल्ड केयर कार्यक्रमको मुख्य उद्देश्य सवारीसाधन सञ्चालनमा अवरोध आउने समय घटाउनुका साथै सञ्चालन खर्च कम गर्नु हो । नियमित तथा रोकथाममूलक मर्मतसम्भार, छिटो सेवा, पारदर्शी प्रक्रिया तथा नेपालको भौगोलिक अवस्था र सञ्चालन आवश्यकताअनुसारको सेवा प्रणालीमार्फत व्यावसायिक सवारीसाधनलाई निरन्तर सञ्चालनमा राख्ने कम्पनीको योजना छ । नयाँ शिल्ड सर्भिस पोइन्टहरू दुर्गम, अर्धशहरी तथा क्षेत्रीय बजारमा आधिकारिक सेवा केन्द्रका रूपमा सञ्चालन हुनेछन् । यी केन्द्रहरूले एउटै मापदण्डअनुसारको गुणस्तरीय सेवा तथा सहज पहुँचसहितको बिक्रीपछिको सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा सेवा केन्द्र विस्तारसँगै ग्राहकको दीर्घकालीन विश्वास अझ सुदृढ हुने तथा नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्न थप सहयोग पुग्ने कम्पनीको विश्वास छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्