नेभिगेशन
अर्थतन्त्र

प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको छ । आयकर ऐन, २०५८ अनुसार खाताबाट कट्टी गरिएको करको विवरण आन्तरिक राजस्व विभागको प्यान प्रणालीमा अनिवार्य रूपमा आबद्ध गर्नुपर्ने भएकाले बैंकले यस्तो अनुरोध गरेको हो । 
बैंकले जारी गरेको विज्ञप्तिअनुसार ग्राहकले बैंकको अनलाइन पोर्टल वा मोबाइल बैंकिङ एपमार्फत ‘प्यान अपडेट’ विकल्प प्रयोग गरी सजिलै प्यान अद्यावधिक गर्न सक्नेछन् । साथै, आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयमा पुगेर पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार निक्षेपकर्ताको ब्याजमा कट्टी गरिएको करको विवरण आन्तरिक राजस्व विभागको प्रणालीमा प्रविष्ट गर्न प्यान अनिवार्य छ । 
प्यान अद्यावधिक भएपछि ब्याजकरको विवरण सम्बन्धित प्यानमा स्वतः प्रविष्ट हुने र आयकर प्रणालीले अनुसूची–१० मा करकट्टीको विवरण स्वतः मिलान गर्नेछ। यसबाट ग्राहकलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने र प्रमाणपत्र लिन बैंकसम्म पुग्नुपर्ने झन्झट पनि हट्ने बैंकको विश्वास छ । बैंकले प्यान अद्यावधिक नगरेका कारण आन्तरिक राजस्व विभागको प्रणालीमा ब्याजकरको विवरण प्रविष्ट नभएमा वा पछि कर समायोजन गर्नुपर्ने अवस्था आए त्यसको जिम्मेवारी बैंकको नहुने स्पष्ट गरेको छ । यसैगरी, बैंकले ग्राहकलाई आफ्नो खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ।

ग्राहकले भिडियो केवाईसी सेवा वा मोबाइल बैंकिङ एपको ‘मेरो प्रोफाइल’ विकल्पबाट ‘इमेल परिवर्तन’ सेवा प्रयोग गरी इमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन् । आवश्यक परे बैंकका जुनसुकै शाखा कार्यालयबाट पनि इमेल अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको छ । 
यसअघि प्यान उपलब्ध गराइसकेका तर करकट्टीको विवरण अद्यावधिक नभएका वा इमेल ठेगाना अभिलेखमा समावेश नभएका ग्राहकलाई नजिकको शाखा कार्यालय वा बैंकको ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गरी सेवा लिन बैंकले अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्