काठमाडौँ । २१३औं भानुजयन्तीका अवसरमा असार २८ गते नेपाली राजदूतावास अबुधाबीद्वारा तनहु सेवा समाज युएईको सहकार्यमा दूतावासमा "खुल्ला रचना वाचन तथा कृति लोकार्पण कार्यक्रम" सहित एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गरियो । पानसमा दीप प्रज्ज्वलन तथा राष्ट्रियगान सहित राष्ट्रिय विभूति स्व. आदिकविको तस्वीरमा माल्यार्पण गरी शुरु भएको उक्त कार्यक्रममा महामहिम राजदूत, राजदूतावासका कूटनीतिक कर्मचारीहरु तथा परिवार र युएईमा रहेका नेपाल एसोसियन, एनआरएनए, एनसीसी, युएई तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ,युएई, नेपाली समाज,युएई, विभिन्न वैचारिक संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु, युएईमा रहेका सम्पूर्ण साहित्यिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न पेशा र व्यवसायसँग सम्बन्धित साहित्यिक श्रष्टा तथा साहित्यकर्मीहरु लगायत करिव १२५ जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत तेजबहादुर क्षेत्रीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै नेपाली भाषाको संरक्षण, सम्वर्द्धन र उन्नतिमा डायस्पोरा साहित्यको भूमिका अविश्मरणीय रहेको बताए । उनले विदेशमा रहेर पनि नेपाली भाषा र साहित्यमा कलम चलाउने सम्पूर्ण श्रष्टाहरुलाई धन्यावाद व्यक्त गरे । कार्यक्रममा युएईमा कार्यरत नेपाली साहित्यकारहरुद्वारा लेखिएका करिब १० वटा कृतिहरुको विमोचन गरिएको थियो भने उक्त कार्यक्रममा स-साना वालबालिका सहित करिब ४५ जना सर्जकहरुले आ-आफ्ना रचना बाचन गरेका थिए । सबै रचना वाचन गर्ने सर्जकहरुलाई तनहुँ सेवा समाजका तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो।
कार्यक्रममा तनहु सेवा समाज, यूएईका संयोजक टक गुरुङले राजदूतावाससँगको सहकार्यमा आयोजित भानुजयन्ती समारोह सफलतापूर्क सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरूमा पनि नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि राजदूतावाससँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । उनले युएईमा रहेको नेपाली डायस्पोराले नेपाली भाषा र साहित्यको क्षेत्रमा पुर्याएको योगदानको पनि उच्च प्रंशसा गरे।
उक्त कार्यक्रममा राजदूतावासका प्रथम सचिव भूपेन्द्र घिमिरेले प्रथम चरणको कार्यक्रम सञ्चालन गर्दै स्वागत मन्तव्यका क्रममा भानुभक्तको भाषिक तथा साहित्यक योगदान र नेपाली साहित्यको विकासक्रमबारे संक्षिप्त रुपमा चर्चा गरेका थिए भने दोस्रो चरणको कार्यक्रम तनहुँ सेवा समाजका तर्फबाट भवानी नेपालले सञ्चालन गरिन् ।