नेभिगेशन
अर्थतन्त्र

नेपाल र इजरायलबीच व्यापार, लगानी तथा श्रम सहकार्य विस्तारमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासबीच नेपाल–इजरायल आर्थिक सम्बन्ध विस्तारका विषयमा छलफल भएको छ । मंगलबार महासंघ सचिवालयमा भएको भेटवार्तामा दुवै पक्षले व्यापार, लगानी, प्रविधि हस्तान्तरण तथा श्रम सहकार्यलाई थप सुदृढ बनाउने विषयमा जोड दिएका हुन् ।

भेटका क्रममा नेपाल र इजरायलबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन निजी क्षेत्रको सक्रिय सहभागिता, संयुक्त लगानी, नवप्रवर्तन तथा व्यवसायिक सहकार्य विस्तार आवश्यक रहेको धारणा व्यक्त गरिएको महासंघले जनाएको छ । दुवै पक्षले सन् १९९३ मा नेपाल उद्योग वाणिज्य महासंघ र फेडरेशन अफ इजरायली चेम्बर अफ कमर्शबीच भएको समझदारी नवीकरण गरी आर्थिक सहकार्यलाई थप विस्तार गर्ने विषयमा पनि सहमति जनाएका छन् ।

महासंघ अध्यक्ष श्रेष्ठले इजरायलले हासिल गरेको आर्थिक प्रगतिलाई नेपालका लागि प्रेरणादायी उदाहरणको रूपमा उल्लेख गर्दै कृषि आधुनिकीकरण, नवीकरणीय ऊर्जा, डिजिटल नवप्रवर्तन तथा स्वास्थ्य क्षेत्रमा इजरायली अनुभव नेपालका लागि उपयोगी हुने बताए । उनले इजरायलले नेपाली श्रमिक, विशेषगरी केयरगिभरका लागि उपलब्ध गराएको सम्मानजनक रोजगारीको अवसरको प्रशंसा गर्दै सरकार–सरकार (जीटुजी) श्रम सम्झौताले पारदर्शी र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गरेको बताए । हाल संस्थागत रूपमा नेपाली श्रमिक इजरायल गइरहेका भए पनि आगामी दिनमा व्यक्तिगत रूपमा घरायसी केयरगिभिङ र कृषि क्षेत्रमा श्रमिक लैजाने इजरायलको योजनाले नेपाली युवाका लागि थप अवसर सिर्जना हुने उनले उल्लेख गरे । श्रेष्ठले नेपालमा राजनीतिक स्थायित्व कायम हुँदै गएको, लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले नीतिगत सुधार र व्यवसायिक प्रक्रिया सरलीकरणमा काम गरिरहेको तथा नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्दै गएको धारणा राखे । उनले नेपाल र इजरायलका निजी क्षेत्रबीच व्यापारिक प्रतिनिधिमण्डल आदानप्रदान, व्यवसाय–व्यवसाय (बीटुबी) बैठक, संयुक्त लगानी तथा संस्थागत साझेदारी विस्तार गर्न महासंघ तयार रहेको बताउँदै नेपाली र इजरायली व्यवसायीबीच पुलको भूमिका निर्वाह गर्न महासंघ प्रतिबद्ध रहेको बताए । राजदूत बासले इजरायल नेपाली श्रमिकलाई थप रोजगारीका अवसर उपलब्ध गराउन इच्छुक रहेको बताए।

हाल संस्थागत रूपमा नेपाली श्रमिक लैजाने गरिएकोमा अब व्यक्तिगत रूपमा घरायसी केयरगिभिङ तथा कृषि क्षेत्रमा पनि श्रमिक लैजाने विषयमा छलफल भइरहेको उनले जानकारी दिए। साथै, इजरायल नेपाली महिलाका लागि सुरक्षित श्रम गन्तव्य भएको उल्लेख गर्दै भविष्यमा श्रम सहकार्यलाई अझ विस्तार गर्न सकिने धारणा व्यक्त गरे ।

उनले इजरायली व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहे पनि लगानीको सुरक्षा, दोहोरो कर छुट तथा मुनाफा सहज रूपमा फिर्ता लैजान सकिने कानुनी स्पष्टता चाहिरहेको बताए । राजदूत बासले सिमेन्ट, जडीबुटी तथा औषधिजन्य उत्पादन, चिया व्यापार प्रवद्र्धन, कृषि उत्पादनको मूल्य अभिवृद्धि, प्रविधि हस्तान्तरण तथा निजी क्षेत्रबीच सहकार्य विस्तारका क्षेत्रमा इजरायल नेपालसँग काम गर्न तयार रहेको बताए । दुई देशका उद्योगी–व्यवसायीबीच प्रत्यक्ष सहकार्य बढ्दै गए व्यापार, लगानी र प्रविधि आदानप्रदानका नयाँ अवसर सिर्जना हुने विश्वास पनि उनले व्यक्त गरे ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्