नेभिगेशन
अर्थतन्त्र
सेबोनको नयाँ नीति

लगानीकर्ता सुरक्षा, पारदर्शिता र बजार सुधार प्राथमिकतामा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि पूँजी बजार सुधार तथा विकासका प्राथमिकता सार्वजनिक गर्दै लगानीकर्ता संरक्षण, बजारको पारदर्शिता, नियामकीय प्रभावकारिता र प्रविधिमैत्री बजार विकासलाई केन्द्रमा राखेर विभिन्न सुधारका कार्यक्रम अघि बढाउने घोषणा गरेको छ ।

सेबोनले नेपालको पूँजी बजारको संस्थागत विकास, डिजिटल प्रविधिको प्रयोग र लगानीकर्ताको पहुँच विस्तारका क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि बजारको आकार, गहिराइ, वित्तीय साधनको विविधीकरण, संस्थागत लगानीकर्ताको भूमिका, कर्पोरेट सुशासन तथा अन्तर्राष्ट्रिय स्तरको बजार संरचना निर्माणमा अझै सुधार गर्ने नीति लिएको हो । सेबोनले सोही आवश्यकतालाई दृष्टिगत गर्दै बोर्डले आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम कार्यान्वयनका क्रममा लगानीकर्ताको हितलाई केन्द्रमा राखेर विभिन्न सुधारात्मक कदम अघि बढाएको छ । सेबोनका अनुसार धितोपत्रसम्बन्धी कसुरको प्रारम्भिक अनुसन्धानलाई प्रभावकारी बनाउन अन्तरनिकाय समन्वय सुदृढ गरिने भएको छ । साथै, सामाजिक सञ्जाल, इनफ्लुएन्सर, अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार तथा बजारलाई प्रभावित पार्ने गतिविधिमाथि कडा नियामकीय निगरानी गर्ने नीति लिइएको छ ।

यस्तै, शेयस बजारमा हुने वित्तीय ठगी नियन्त्रणका लागि पनि प्रभावकारी कदम चालिने सेबोनले जनाएको छ । प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन कम्पनीको वित्तीय तथा व्यवस्थापकीय अवस्थाको विस्तृत अध्ययन गरी अनुमति दिने नीतिगत व्यवस्था मिलाइने भएको छ । यसका लागि सरोकारवालाबाट प्राप्त सुझावसमेतलाई समेटेर नीतिगत सुधार गरिने सेबोनले स्पष्ट पारेको छ । सेबोनले हालै जारी गरेको मार्जिन कारोबारसम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा धितोपत्र दलाल व्यवसायीबीच समन्वय गरी देखिएका व्यावहारिक समस्या समाधान गर्ने भएको छ ।

त्यसैगरी, दोस्रो बजारमा धितोपत्रको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को लक–इन अवधि तथा बाँडफाँडसम्बन्धी व्यवस्थाको पुनरावलोकन गरिने भएको छ । लगानीकर्ताको कारोबार लागत घटाउने उद्देश्यले प्राथमिक तथा दोस्रो बजारका शुल्क संरचनासमेत पुनरावलोकन गरिने नीति सेबोनले लिएको छ ।  यस्तै, शेयर बजार सूचकलाई थप यथार्थपरक बनाउने उद्देश्यले हालको नेप्से ‘अल इक्विटी इन्डेक्स’ कायम राख्दै कारोबारयोग्य ‘फ्री फ्लोट’ शेयरका आधारमा नयाँ बेन्चमार्क सूचकांक विकास गरिने सेबोनले जनाएको छ ।

साथै, सामाजिक सञ्जालमार्फत सर्वसाधारण लगानीकर्ताबाट आईपीओ वा अन्य शीर्षकमा हुने पूँजी संकलनसम्बन्धी अव्यवस्थित अभ्यासलाई कानुनी दायरामा ल्याउन आवश्यक नियमनको व्यवस्था गरिने भएको छ । सेबोनले यी सुधारात्मक कार्यक्रमसँगै आगामी दशकका लागि तयार गरिएको नेपालको पूँजी बजार विकास मार्गचित्र, आर्थिक वर्ष २०८३÷८४ को पूँजी बजार नीति तथा त्यसको कार्यान्वयन कार्ययोजना पनि सार्वजनिक गर्ने जनाएको छ । सेबोनका अनुसार यी नीतिहरूको कार्यान्वयनबाट नेपालको पूँजी बजारलाई थप विश्वसनीय, पारदर्शी, प्रतिस्पर्धी, समावेशी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्दै राष्ट्रिय बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्