नेभिगेशन
अर्थतन्त्र

देशभर ५० प्रतिशत धान रोपाइँ सकियो

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँले गति लिएको छ । असार सकिन लाग्दा देशभरमा ५० प्रतिशत हाराहारीमा धान रोपाइँ सकिएको हो । अबको केही दिन वर्षा अनुकूल रहेमा बाँकी क्षेत्रमा पनि रोपाइँ तीव्र रूपमा अघि बढ्ने कृषि विभागले जनाएको छ । विभागका अनुसार चालु आर्थिक वर्षमा देशभर १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य राखिएको छ । अहिलेसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भइसकेको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले यसको उत्पादनले खाद्य सुरक्षा, ग्रामीण अर्थतन्त्र र समग्र कृषि क्षेत्रको अवस्थालाई प्रत्यक्ष प्रभाव पार्ने गर्छ । 
गत वर्ष यही अवधिसम्म करिब ६० प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेपछि यो वर्ष ढिलो गरी वर्षा सुरु भएकाले आधा मात्रै रोपाइँ सकिएको विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले बताए । प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेश धान रोपाइँमा सबैभन्दा अगाडि रहेको छ । यो प्रदेशमा हालसम्म ८७ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । यस्तै, गण्डकी प्रदेशमा ६५.९ प्रतिशत, कर्णाली प्रदेशमा ६० प्रतिशत, लुम्बिनी प्रदेशमा ५९ प्रतिशत तथा बागमती प्रदेशमा ५७.१ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ । 
कोशी र मधेश प्रदेशमा भने अन्य प्रदेशको तुलनामा कम रोपाइँ भएको छ । कोशी प्रदेशमा ३२ प्रतिशत रोपाइँ हुँदा मधेस प्रदेशमा ३२.७ प्रतिशत मात्रै रोपाइँ भएको विभागले जनाएको छ । यी प्रदेशमा मनसुन ढिलो सक्रिय हुनु, केही क्षेत्रमा पर्याप्त सिँचाइको अभाव तथा वर्षाको असमान वितरणका कारण रोपाइँ अपेक्षाकृत सुस्त भएको हो । हाल देशका अधिकांश क्षेत्रमा नियमित वर्षा भइरहेकाले आगामी एक साताभित्र रोपाइँको प्रतिशत उल्लेखनीय रूपमा बढ्ने विभागको दाबी छ । देशभरमा धान रोपाइँ भइरहेको भएपनि यो वर्षपनि किसानले रासायनिक मलको समस्या भने झेल्नु परिरहेको छ । किसानले माग अनुसार मल पाउन सकेका छैनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्