नेभिगेशन
अर्थतन्त्र

ग्यास कालोबजारी रोक्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभाव तथा आपूर्ति व्यवस्थासम्बन्धी समस्या नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले ग्यासको सहज र दीर्घकालीन आपूर्ति सुनिश्चित गर्न आवश्यक कदम चाल्न सरकारलाई निर्देशन दिएको हो । 
समितिका सभापति रहबर अन्सारीले ग्यास आपूर्तिको दीर्घकालीन समाधानका लागि पाइपमार्फत ग्यास वितरण प्रणाली विस्तारको सम्भावना, प्रभाव र आवश्यकताबारे अध्ययन तथा अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन समितिमा पेश गर्न मन्त्रालयलाई निर्देशन दिए । बैठकले पुराना ग्यास सिलिन्डरको प्रयोगबाट उपभोक्तामा हुन सक्ने जोखिम न्यूनीकरण गर्न पनि जोड दिएको छ । समितिले नेपाल एलपी ग्यास उद्योग, नेपाल आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई नियमित अनुगमन गर्दै सिलिन्डरको गुणस्तर परीक्षण प्रभावकारी बनाउन निर्देशन दिएको छ । समितिले उपभोक्ताको सुरक्षा र ग्यास आपूर्ति प्रणालीलाई थप व्यवस्थित तथा पारदर्शी बनाउन सम्बन्धित निकायले समन्वयात्मक रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्