नेभिगेशन
अर्थतन्त्र

बर्डफ्लु प्रभावित कुखुरापालक किसानलाई ५० करोडभन्दा बढी राहत

काठमाडौं । सरकारले बर्डफ्लुका कारण क्षति बेहोरेका कुखुरापालक किसानलाई ५० करोड ७१ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । राहत रकम झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकका १०५ जना किसानलाई वितरण गरिएको पशु सेवा विभागले जनाएको छ । विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायका अनुसार बर्डफ्लु नियन्त्रणका क्रममा विभागको निगरानीमा नष्ट गरिएका कुखुराको क्षतिपूर्तिस्वरूप आवश्यक प्रक्रिया पूरा गरी कागजात बुझाएका किसानलाई क्षतिको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराउने व्यवस्था छ ।

विभागको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा संक्रमण नियन्त्रणका लागि देशभर करिब ७ लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा तथा २ लाख ४३ हजार ६३५ किलो दाना नष्ट गरिएको छ । उपाध्यायका अनुसार पछिल्ला तीन महिनामा बर्डफ्लु फैलिएका ११ जिल्लामध्ये झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा र चितवनलगायत जिल्लामा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला तथा काभ्रेपलाञ्चोकमा पनि संक्रमण नियन्त्रणउन्मुख रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्