नेभिगेशन
अर्थतन्त्र

कोरिया रिटर्नको रहरलाग्दो व्यावसायिक कृषि

फिक्कल (इलाम) । अहिले मुलुकका धेरै युवा वैदेशिक रोजगारका लागि विदेश गएका छन् । उनीहरु आफ्नो जवान, उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन् । स्वदेश फर्केपछि सुविधा सम्पन्न सहरमा बसाइ सर्छन् । गाउँमा रहेका जग्गाजमिन बाँझै छाडेर सहरकेन्द्रित हुन्छन् । सहरमा घडेरी किन्छन्, घर बनाउँछन् र बस्छन् । तर, इलामको चुलाचुली गाउँपालिका–१ चौबिसेका सन्देश नेम्वाङले उदाहरणीय काम गरिरहेका छन् । 
उनले वैदेशिक रोजगारीमा गरेको कमाइ आफ्नै गाउँमा उत्पादनमूलक क्षेत्रमा नै लगानी गरेका छन् । पाँच वर्ष दक्षिण कोरियामा कमाएको पैसा गाउँमा कृषि तथा पशुपालन व्यवसायमा लगाएका छन् । २०७६ सालमा साम्बाङ एग्रो फार्म दर्ता गरी कृषि तथा पशुपालन व्यवसाय सुरु गरेका उनले सुरुमा  २५ लाखको लगानी लगाएका थिए । अहिले उनको व्यवसाय बिस्तार भएको छ । 
उनले आफ्नो दुई बिघासँगै १५ बिघा जमिन भाडामा लिएर कोरियामा देखेको कृषि प्रविधिको सीपलाई उपयोग गरिरहेका छन् । नेम्वाङले वार्षिक करिब ७० लाख आम्दानी गर्दै आएका छन् । आठ वर्षदेखि कृषि र पशुपालन व्यवसाय संयुक्त रुपमा गर्दै आएका छन् ।  

‘हामीले दुःख गर्न सक्ने हो भने कृषि र पशुपालन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने रहेछ,’ उनी भन्छन् । उनको गोठमा अहिले १७  भैंसी र सात गाई छ । जसमध्ये ११ माउ लैना भैंसी र चार माउ लैना गाई छन् । चार भैंसी र तीनवटा गाई ब्याउने छन् ।
नेम्वाङले दैनिक १२० देखि १२० लिटरसम्म दूध बेच्दै आएका छन् । उनको फर्मको दूध स्थानीय अन्नपूर्ण कृषि सहकारी संस्था र नेपाल बहुउद्देशीय सहकारी संस्थामा बिक्री हुँदैआएको छ । गाईको दूध प्रतिलिटर ६५ र भैंसीको प्रतिलिटर ९० मा बिक्री हुँदैआएको छ । ‘सहकारीले दूध फ्याटका आधारमा खरिद गर्छ । लगानीअनुसार मूल्य चाहिँ बढाउन पाए राम्रो हुन्थ्यो,’ उनले भने ।
पछिल्लो समय उनले मासुका लागि राँगापालन सुरु गरेका छन् । नेम्वाङको फार्ममा एक दर्जन पाडा छन् । पशुपालनका लागि उनले पाँच बिघा जमिनमा सुपर नेपिरयर जातको घाँस लगाएका छन् । गाईभैंसीको गोबरलाई मल बनाउर खेतबारीमै उपयोग गर्ने गरिएको छ । उनले व्यावसायिक तरकारी खेती पनि गरेका छन् । तरकारी १० बिघामा छ । टमाटर, तितेकरेला, सिमी, बोडी, घिरौँला, काँक्रा, बैगुन, खुर्सानीलगायतका तरकारी लगाएका छन् ।  उनको फर्मको तरकारी बिक्रीका लागि झापाको दमकमा पुग्छ । खरिदका लागि व्यापारी उनको फार्ममै आउँछन् । रासस
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्