नेभिगेशन
अर्थतन्त्र

पर्यटन क्षेत्रलाई गति दिने सरकारको प्रतिबद्धता, होटल उद्योगलाई ढुक्क हुन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनलाई तीव्र गतिमा अघि बढाइएको भन्दै होटल व्यवसायीहरूले व्यक्त गर्दै आएको चिन्ता अब अन्त्य गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार होटल संघ नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । उनले होटल व्यवसायीलाई कानुनको पूर्ण पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी निर्वाह गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमार्फत गर्न सकिने सहकार्यबारे अध्ययन गर्न आग्रह गरे ।

प्रधानमन्त्रीसँगको छलफलका क्रममा हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराए । हाल वार्षिक करिब १२ लाख पर्यटक मात्र नेपाल भित्रिरहेको उल्लेख गर्दै उनीहरूले पर्यटक आगमन बढे आन्तरिक रोजगारीमा उल्लेखनीय वृद्धि हुने र नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग प्रभावकारी माध्यम बन्न सक्ने बताए । हानले नेपालमा आरोग्य पर्यटन, गन्तव्य विवाह (डेस्टिनेसन वेडिङ) र क्रस–बोर्डर पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै सरकारसमक्ष विभिन्न नीतिगत माग पनि राख्यो । होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत उपलब्ध गराउन तथा साना तथा मझौला होटलका लागि २५ शैयासम्म लागू रहेको संक्षिप्त वातावरणीय मूल्याङ्कनको सीमा बढाएर ५० शैयासम्म कायम गर्नुपर्ने माग व्यवसायीहरूले गरे ।

त्यसैगरी, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन, नेपाल एयरलाइन्सको सेवा सुधार गर्न तथा वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अन्तर्गत ट्रेडमार्क प्रयोगबापतको रोयल्टी वा शुल्क कुल बिक्री मूल्यको पाँच प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था संशोधन गरी आपसी समझदारीका आधारमा निर्धारण गर्न सकिने व्यवस्था गर्न पनि हानका पदाधिकारीहरूले आग्रह गरे । होटल व्यवसायसँग सम्बन्धित अन्य कानुनको पुनरावलोकन र संशोधन गर्नुपर्ने माग उनीहरूले प्रधानमन्त्री समक्ष राखेका छन् ।

व्यवसायीहरूले ‘डेस्टिनेसन वेडिङ’का लागि गरगहना ल्याउने प्रक्रिया सहज बनाउन तथा आरोग्य पर्यटन प्रवद्र्धनका लागि फोटो–भिडियोमा सीमित नभई ‘फुल स्टोरी टेलिङ’ सहितको प्रचार–प्रसार प्याकेज र आवश्यक विज्ञको व्यवस्था गर्न प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराए । छलफलमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा हान सचिवालयका प्रमुख टेकबहादुर महतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्