नेभिगेशन
अर्थतन्त्र

सिटिजन्स बैंकको वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२÷८३ मा देशका सातै प्रदेशमा वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । बैंकले आफ्ना १४८ शाखा कार्यालयमार्फत आयोजना गरेका वित्तीय साक्षरता कार्यक्रममा करिब १० हजार सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् ।

बैंकका अनुसार कोशी प्रदेशका २०, मधेशका २१, बागमतीका ४३, गण्डकीका १३, लुम्बिनीका ३२, कर्णालीका ९ र सुदूरपश्चिमका १० शाखामार्फत वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्ति तथा अन्य विभिन्न समुदायका सहभागीलाई वित्तीय ज्ञान प्रदान गरिएको बैंकले जनाएको छ । कार्यक्रममा वित्तीय साक्षरताको आवश्यकता र महत्त्वका साथै डिजिटल बैंकिङको विस्तारसँगै बढ्दै गएको साइबर अपराध र वित्तीय जोखिमबारे जानकारी गराइएको थियो । साथै, नगद कारोबार, विप्रेषण तथा अन्य वित्तीय कारोबार गर्दा औपचारिक बैंकिङ प्रणालीको प्रयोग गर्न सहभागीलाई आग्रह गरिएको बैंकले जनाएको छ । यसबाट सुरक्षित वित्तीय कारोबार प्रवद्र्धन हुनुका साथै बैंकिङ प्रणालीप्रतिको विश्वास अझ सुदृढ हुने अपेक्षा गरिएको छ । यसैबीच, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा सामाजिक संघसंस्थालाई सहयोग उपलब्ध गराएको जनाएको छ । सोही क्रममा कर्णाली प्रदेशस्थित सार्केगाड शाखाले सार्केगाड गाउँपालिका–४ मा रहेको श्री हिमज्योति माध्यमिक विद्यालयका बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत १९६ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक र न्यानो स्वेटर वितरण गरेको छ । बैंकले यस्ता सामाजिक तथा वित्तीय साक्षरतामूलक कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउन तथा वित्तीय पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

सिटिजन्स बैंकले हालका वर्षहरूमा विभिन्न नवीन डिजिटल बैंकिङ सेवा पनि सञ्चालनमा ल्याएको छ । बैंकले फोनपेसँगको सहकार्यमा नेपालकै पहिलो ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो । त्यसैगरी, नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’, फ्रिलान्सरहरूका लागि ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ तथा मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन (आईपीओ) र सी–आस्बा दर्ता नम्बर (सीआरएन) सेवा उपलब्ध गराउने सुविधा समेत सञ्चालनमा ल्याएको छ । साथै, अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने ‘क्रस बैंक टेलर’ सेवा पनि बैंकले सुरु गरेको छ । विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर’ अवार्ड २०२४ र २०२५ प्राप्त गरिसकेको सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ४५ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्