नेभिगेशन
अर्थतन्त्र
प्रधानमन्त्री शाह र गर्भनर पौडेल भेट

मौद्रिक नीति कार्यान्वयनमा लचकता अपनाउन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई थप गतिशील, बलियो र व्यावसायिक बनाउन आगामी मौद्रिक नीतिमा आवश्यक लचकता र सहजीकरण गर्न नेपाल राष्ट्र बैंकलले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँगको भेटमा प्रधानमन्त्री शाहले मुलुकको समग्र आर्थिक विकास, शेयर बजारको स्थायित्व तथा उद्यमशीलता प्रवर्धनका लागि मौद्रिक नीतिलाई समयसापेक्ष र व्यवसायमैत्री बनाएर कार्यान्वयन गर्न सुझाएका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले सरकार र केन्द्रीय बैंकबीचको प्रभावकारी सहकार्यबाट मात्र मुलुकमा आर्थिक आत्मविश्वास पुनःस्थापित गर्न सकिने विश्वास व्यक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उनले पुँजी बजारमा आबद्ध आम लगानीकर्ताको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि गर्भनर पौडेल समक्ष राखे । प्रधानमन्त्री शाहले मौद्रिक नीतिमा रहेका कतिपय सीमा र अप्ठ्यारा प्रावधानलाई खुकुलो पार्दै शेयर बजारमा लगानी गर्ने वातावरणलाई थप सहज र उत्साहजनक बनाउन पौडेललाई सुझाव दिए ।

साथै, उद्यम तथा व्यवसाय क्षेत्रमा सकारात्मक सुधार आवश्यक रहेको उल्लेख गर्दै उद्योग, व्यवसाय र रोजगारी सिर्जना गर्न चाहने साना तथा ठूला उद्यमीले बिनात्रास लगानी गर्न सक्ने वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन् । उनले बैंकहरूको ब्याजदर तथा कर्जा प्रवाहका सर्तलाई पनि उद्यममैत्री बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । महिला उद्यमी तथा आर्थिक–सामाजिक रूपमा पछाडि परेका क्षेत्रका व्यवसायीलाई सहुलियतपूर्ण कर्जामा विशेष प्राथमिकता दिई उनीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने गरी मौद्रिक उपकरण परिचालन गर्नुपर्ने धारणा पनि उनले गर्भनर पौडेल समक्ष राखेका छन् ।

प्रधानमन्त्री शाहसँगको छलफलमा गभर्नर पौडेलले शुक्रबारदेखि कार्यान्वयन हुने आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीति र राष्ट्र बैंकका कार्यदिशालाई व्यावसायिक, लचिलो तथा समयसापेक्ष बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकार र राष्ट्र बैंक दुवैको साझा लक्ष्य अर्थतन्त्रलाई गति दिनु रहेको उल्लेख गर्दै गर्भनर पौडेलले कसैलाई अप्ठ्यारो पार्ने वा त्रसित बनाउने नीति राष्ट्र बैंकले नलिने पनि बताए । गभर्नर पौडेलले शेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई नीतिगत रूपमा आवश्यक सहजीकरण गर्दै समग्र अर्थतन्त्रलाई थप गतिशील बनाउने दिशामा राष्ट्र बैंक प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री शाहले देशको आर्थिक क्षेत्रसँग जोडिएका व्यक्ति तथा संख्याका प्रतिनिधिसँगको छलफलपछि बिहीबार गर्भनर पौडेलसमक्ष देशको अर्थतन्त्र सुधारका सम्बन्धमा छलफल गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्