नेभिगेशन
अर्थतन्त्र

असान्दर्भिक ऐन तथा नियमावलीहरू खारेज हुन्छः विदुषी राणा

पुँजी बजारलाई आर्थिक विकासको इन्जिन बनाउन सुझाव

काठमाडौँ ।रास्वपा सांसद एवं अर्थ समिति सदस्य विदुषी राणाले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा "अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३" माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै संविधानको मर्म, संघीय संरचना र वर्तमान प्रविधिमैत्री डिजिटल युग अनुकूल नभएका दशकौं पुराना असान्दर्भिक ऐन तथा नियमावलीहरू पूर्ण रूपमा खारेज गर्ने उद्देश्य विधेयकले राखेको बताइन् । उनले प्रभावकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्य विधेयकले राखेको बताइन् । 
पुराना र बाझिएका आर्थिक कानूनहरू कायम रहँदा केन्द्र र प्रदेशबीच कानूनी दोहोरोपन र अन्योल सिर्जना गरेकाले विधेयकले परिकल्पना गरेबमोजिम पुराना अड्चनहरू हटाई कम समय र लागतमा सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्ने बताइन् ।
यसैगरी सांसद राणाले नेपालको पुँजी बजारलाई केवल सेयर किनबेच गर्ने माध्यमका रूपमा नभई मुलुकको समग्र आर्थिक विकासको इन्जिनका रूपमा विकास गर्नुपर्ने बताएकी छन्।
बुधबारै बसेको अर्थ समितिमा नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ नेतृत्वसँग भएको छलफलमा सांसद राणाले लगानीकर्ताको विश्वास पुनर्स्थापना गर्दै पुँजी बजारलाई वास्तविक अर्थतन्त्रसँग जोड्नुपर्नेमा जोड दिइन्।
उनले ७८ लाखभन्दा बढी मेरो सेयर प्रयोगकर्ता र ठूलो सङ्ख्यामा डिम्याट खाता भए पनि बजारको गहिराइ अझै सीमित रहेको उल्लेख गर्दै दीर्घकालीन र संस्थागत लगानी भित्र्याएर बजारलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताइन्।
सांसद राणाले पुँजी बजारमा पारदर्शिता अभिवृद्धि गरी लगानीकर्ताको गुमेको विश्वास फर्काउनुपर्ने र बजारलाई देशको वास्तविक अर्थतन्त्रको ऐनाका रूपमा स्थापित गर्नुपर्ने धारणा राखिन्। बजारको गहिराइ र तरलता बढाउन स्पष्ट रणनीति आवश्यक रहेको उनको भनाइ थियो।
उनले वर्षौँदेखि चर्चामा सीमित रहेका संस्थागत ऋणपत्र, साना तथा मझौला उद्यम (एसएमई) एक्सचेन्ज, घरजग्गा लगानी ट्रस्ट र भेन्चर क्यापिटल जस्ता नयाँ वित्तीय उपकरण सञ्चालनका लागि स्पष्ट कार्ययोजना र समयसीमा तय गर्न धितोपत्र बोर्डलाई आग्रह गरिन्।
सांसद राणाले बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ७० प्रतिशतभन्दा माथि पुगेको अवस्थामा अब बजारको सफलतालाई केवल नेप्से सूचकको उतारचढावले नभई उद्योग, पूर्वाधार, ऊर्जा लगायत उत्पादनशील क्षेत्रमा कति पुँजी प्रवाह भयो भन्ने आधारमा मूल्याङ्कन गर्नुपर्ने बताइन्।
उनले विदेशी संस्थागत लगानीकर्तालाई आकर्षित गर्न बजारको पूर्वाधार, पारदर्शिता र नियामकीय प्रणालीमा सुधार गरी आगामी दुई वर्षभित्र ठोस नतिजा देखाउन सेबोनलाई आग्रह गरिन्।
साथै, बजारको आधुनिक निगरानीका लागि कृत्रिम बौद्धिकता (एआई), रियल–टाइम मोनिटरिङ प्रणाली र साइबर सुरक्षा तत्काल कार्यान्वयनमा ल्याई बजारमा हुने चलखेल तथा जोखिम न्यूनीकरण गर्नुपर्नेमा पनि उनले जोड दिइन्।
सांसद राणाले पुँजी बजारको सफलता केवल नेप्से सूचकमा सीमित नरही उत्पादन, रोजगारी सिर्जना र लगानी विस्तारमा पुर्‍याएको योगदानका आधारमा मापन गरिनुपर्ने धारणा व्यक्त गरिन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्