काठमाडौं । कांग्रेसको संस्थापन र इतर समूहले बिपी स्मृति दिवस छुट्टाछुट्टै मनाउने भएका छन् । पार्टीले वातावरणीय चेतना अभिवृद्धि हुने कार्यक्रम राखेको छ भने इतर पक्षले आफ्नो पक्षमा रहेकाहरुलाई भेला गराएर अक्ति देखाउने भएको छ ।
संस्थापक नेता बिपी कोइरालाको ४४औं स्मृति दिवसका अवसरमा आगामी बुधबार साउन ६ गते काठमाडौं उपत्यकामा जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ तीन विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । उता, इतर पक्षले अलग कार्यक्रम गर्ने भएको छ ।
उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा शनिबार बसेको कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकको निर्णयअनुसार ‘जलवायु जनचेतना जगाउन जुटौं’ भन्ने नारासहित ५ किलोमिटर ’ग्रीन रन,’ प्यानल डिस्कसन तथा लाइभ पेन्टिङ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
बिहान ६ बजेदेखि सुरु हुने ‘ग्रीन रन’ ललितपुरस्थित यूएन पार्क नजिकबाट प्रारम्भ भएर जावलाखेलसम्म पुग्नेछ । आयोजकका अनुसार दौड प्रतिस्पर्धात्मक मात्र नभई सबै नागरिकको सहभागितालाई प्रोत्साहन गर्ने सहभागितामूलक कार्यक्रम हुनेछ । जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
दौड सम्पन्न भएपछि बिहान ७ बजे जावलाखेल चोकस्थित फाल्चामा ‘जलवायु परिवर्तनको चुनौती ः निराकरण कसरी’ विषयमा प्यानल छलफल हुनेछ । कार्यक्रममा जलवायु परिवर्तन, वातावरण संरक्षण तथा नीति निर्माणसँग सम्बन्धित विज्ञहरूको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ ।
त्यसैगरी, प्यानल छलफल चलिरहेकै समयमा सोही स्थलमा लाइभ पेन्टिङ कार्यक्रम पनि सञ्चालन हुनेछ । चर्चित चित्रकारहरूले जलवायु परिवर्तनका चुनौती, वातावरण संरक्षणको आवश्यकता र सम्भावित समाधानलाई चित्रमार्फत प्रस्तुत गर्नेछन् ।
कांग्रेसले बिपी कोइरालाको स्मृति दिवसलाई केवल औपचारिक श्रद्धाञ्जलीमा सीमित नराखी समसामयिक विश्वव्यापी चुनौतीका रूपमा रहेको जलवायु परिवर्तनप्रति नागरिक सचेतना अभिवृद्धि गर्ने अभियानका रूपमा मनाउन लागेको जनाएको छ ।
शक्ति प्रदर्शनको तयारी
कांग्रेसको इतरपक्ष पार्टीभित्र आफ्नो राजनीतिक हैसियत देखाउने रणनीतिसहित शक्ति प्रदर्शनको तयारीमा जुटेको छ । बिपी कोइरालाको स्मृति दिवसका अवसरमा साउन ६ गते आयोजना हुने कार्यक्रमलाई इतर पक्षले आफ्नो संगठनात्मक बल प्रदर्शनको पहिलो चरणका रूपमा लिएको छ भने त्यसलगत्तै राष्ट्रिय भेला आयोजना गर्ने तयारी पनि अघि बढाइएको छ। त्यसैको गृहकार्यका लागि चुनदेवीस्थित सम्पर्क कार्यालयमा उनीहरूको नियमित बैठक बसिरहेको छ । इतरपक्षका नेता भीमसेनदास प्रधान अब वार कि पारको लडाइ हुने बताउँछन् । ’एकताको कल गगन जीको हातमा छ । तर, उहाँको प्रयास मिलाउने तिर कम देखिन्छ,’ उनले भने, ’राष्ट्रिय भेलासम्म कुरा मिलेन भने पार्टी फुट्न सक्छ ।’
इतर पक्षका नेता जीतजंग बस्नेतले तरुण दलका नेताहरूसँग छलफल गर्दै साउन ६ को कार्यक्रममा कम्तीमा एक हजार कार्यकर्ता उपस्थित गराउन निर्देशन दिएका छन् । यो समूहले प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गर्ने भएको छ ।
बस्नेतले अहिले पार्टी एकता हुने वा नहुने निश्चित नभएको भन्दै दुवै अवस्थाका लागि शक्ति प्रदर्शन आवश्यक रहेको बताएका छन् । ‘भोलि हामीले राम्रो गर्न सक्यौँ भने पार्टी मिल्दा पनि वर्चस्वमा हामी हुन्छौँ। पार्टी मिलेन र नयाँ ढंगले अघि बढ्नुपर्ने अवस्था आयो भने पनि यही शक्ति प्रदर्शन हाम्रो आधार बन्छ,’ उनी भन्छन् ।
उनले तरुण दललाई अनुशासित र संगठित रूपमा उपस्थित हुन आग्रह गर्दै सुरक्षाको जिम्मेवारीसमेत निर्वाह गर्नुपर्ने बताए। ’वाचडगको भूमिकामा काम गर्नुपर्ने भएकाले करिब एक हजार साथीको उपस्थिति आवश्यक छ,झ उनले भने।
यसैबीच, चुनदेवीस्थित सम्पर्क कार्यालयमा पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको देउवा समूहका शीर्ष नेताहरूको बैठकले पनि पार्टी एकताको सम्भावना अत्यन्त कमजोर भएको निष्कर्ष निकालेको छ।
बैठकपछि नेता मीनबहादुर विश्वकर्माले बिपी स्मृति दिवसको तयारी, पार्टी एकताका लागि बनेको समिति, संगठन सुदृढीकरण र आगामी रणनीतिबारे छलफल भएको जानकारी दिए। उनका अनुसार बैठकले साउन २४ देखि २९ गतेभित्र राष्ट्रिय भेला आयोजना गर्ने तयारी अघि बढाउने निर्णय गरेको छ।
उनका अनुसार यदि सहमतिको ढोका पूर्ण रूपमा बन्द भयो भने इतर पक्षले नयाँ राजनीतिक बाटो, नेतृत्व, नीति, संगठनात्मक संरचना र वैधानिक व्यवस्थासहित वैकल्पिक रणनीति तयार गर्नेछ। एकताका लागि सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले डा. शशांक कोइरालासँग छलफल जारी राखेका छन् ।