काठमाडौं । फुटवेयर उत्पादक संघले नेपाली जुत्ता–चप्पल उद्योगले भोगिरहेका समस्या समाधान, स्वदेशी उत्पादनको संरक्षण तथा विदेशी वस्तुको प्रतिस्थापन गर्न अवैध आयात तथा गुणस्तर परीक्षणमा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संघका पदाधिकारीले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटी नेपाली जुत्ता–चप्पल उद्योगलाई असर पारिरहेका अवैध आयात, चोरी–पैठारी, गुणस्तरहीन वस्तुको आयात तथा कच्चा पदार्थ आपूर्तिसँग सम्बन्धित समस्याबारे विस्तृतमा अवगत गराई यस्तो माग गरेका हुन् । संघका अनुसार प्रधानमन्त्रीसँगको छलफलमा विशेषगरी भारतका विभिन्न नाकाबाट हुने अवैध चोरी–पैठारी नियन्त्रण गर्न, गुणस्तरहीन तथा सस्तो जुत्ता–चप्पलको आयातलाई व्यवस्थित बनाउन तथा आयातित जुत्ता–चप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्न सरकारको ध्यानाकर्षण गराइएको थियो ।
साथै, आयात हुने वस्तुमा ‘कन्ट्री अफ ओरिजिन’, एमआरपी, लेबलिङ र गुणस्तर मापदण्ड अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ । भेटमा उद्योगीहरूले कच्चा पदार्थ आयातमा देखिएका प्रशासनिक तथा राजस्वसम्बन्धी जटिलताका कारण उद्योग सञ्चालन प्रभावित भएको बताएका छन् । कच्चा पदार्थ आयात प्रक्रियामा रहेका अवरोध हटाउन कूटनीतिक तथा नीतिगत पहल आवश्यक रहेको उनीहरूको भनाइ थियो । अहिले कच्चा पदार्थ आयातमा हुने ढिलाइका कारण उद्योगले समयमै उत्पादन गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै यसको तत्काल समाधान गर्न आग्रह गरिएको छ । संघले जुत्ता उद्योगलाई आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि सरकारले तालिम केन्द्र स्थापना तथा सहजीकरण गर्नुपर्ने माग पनि राखेको छ । नेपालमा रोजगारी सिर्जना गर्ने प्रमुख उत्पादनमूलक उद्योगमध्ये फुटवेयर उद्योग पनि एक भएकाले दक्ष जनशक्ति विकासमा सरकारी सहयोग अपरिहार्य रहेको संघको भनाइ छ ।
छलफलका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी उत्पादनको प्रवद्र्धन, रोजगारी सिर्जना र निर्यात विस्तारका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको संघले जनाएको छ । प्रधानमन्त्रीले उद्योगमैत्री वातावरण निर्माण गर्दै स्वदेशी उत्पादनलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउने दिशामा सरकार सकारात्मक रहेको धारणा राखेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री शाहलाई भेट्न संघकाका अध्यक्ष सुरज बजगाईं, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भण्डारी, पूर्वउपाध्यक्ष कालिदास गौतम लगायत संघका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी टोली पुगेको थियो ।
गैरकानुनी रूपमा जुत्ता चप्पलको व्यापार नगर्न आग्रह
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी ढंगले जुत्ता, चप्पल (फुटवेर) को व्यापार÷व्यवसाय नगर्न सरोकार भएका सबैलाई आग्रह गरेको छ । विभागले सार्वजनिक सूचना जारी गरेर गैरकानुनी रूपमा फुटवेयरको व्यापार÷व्यवसाय नगर्ने÷नगराउने विषयमा सबैलाई समन्वय र सहयोगका लागि आह्वान गरेको हो । विभागले बजारमा लेवल नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएका फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको भनी विभिन्न माध्यमबाट उजुरी तथा गुनासो प्राप्त भएको सम्बन्धमा गम्भीर ध्यानार्कषण भएको जनाएको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ मा उत्पादकले आफूले उत्पादन गरेका वस्तुमा ऐनले तोके बमोजिमको लेवल लगाउनुपर्ने जनाएको छ । विभागले सोही ऐनको दफा ८ मा भएको व्यवस्था अनुसार पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानुन बमोजिमका शर्त पूरा गर्नसमेत अनुरोध गरेको छ ।
विभागले सोही ऐनको दफा ११ मा वस्तु बिक्री गर्ने बिक्रेताको दायित्वलगायत कानुनी प्रावधान बमोजिम उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरेको जनाएको छ । विभागले सबै उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेताहरूलाई कानुनले तोके बमोजिमको दायित्व तथा शर्त परिपालना गरी उद्योग व्यवसाय सञ्चालन गर्न गराउन हुन सूचित गरेको छ । विभागले कानुन विपरितका कार्य भएगरेको पाइएमा कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिने व्यहोरा सबैलाई जानकारी गराएको छ ।