काठमाडौं । देशकै पहिलो बहुप्रतीक्षित नागढुंगा–नौबिसे सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी स्वरूप ‘नागढुंगा टनेल रन एण्ड वाक’ कार्यक्रम गरिएको छ । सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को नेपाल कार्यालयले संयुक्तरूपमा ‘नागढुंगा टनेल रन एण्ड वाक’ कार्यक्रम सम्पन्न गरेका हुन् । सुरुङमार्गबारे सर्वसाधारणमा जानकारी बढाउने, यसको उपयोगिता र महŒवबारे जनचेतना अभिवृद्धि गर्ने तथा सञ्चालनपूर्व प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा दौड तथा पदयात्रा गरिएको हो ।
सुरुङमार्गप्रति नागरिकको चासो बढाउन तथा यसको सञ्चालनबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालले बताए । उनका अनुसार २ हजार ६८८ मिटर लामो नागढुंगा–नौबिसे सुरुङमार्ग अब सञ्चालनको अन्तिम चरणमा पुगेको छ । साउन महिनाभित्रै यो सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए । सरकारले बजेट भाषणमार्फत साउन १ गतेदेखि नै यो सुरुङमार्ग सञ्चालन गर्ने घोषणा गरेको भएपनि अहिलेसम्म सम्भव हुन सकेको छैन । सुरुआती ठेक्का सम्झौताअनुसार यो सुरुङमार्ग आयोजना सन् २०२३ अप्रिल २६ भित्र सम्पन्न भई सञ्चालनमा आइसक्नुपर्ने थियो । तर, ठेकेदार कम्पनीको ढिलासुस्ती, स्थानीयवासीको अवरोध तथा अन्य प्राविधिक कारणले निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुन नसकेको अहिले बल्ल सञ्चालन गर्ने चरणमा पुगेको नेपालले बताए । नेपालका अनुसार काठमाडौं उपत्यकामा प्रवेश तथा बाहिरिने मुख्य नाका नागढुंगा–नौबिसे सडकखण्ड हुँदै दैनिक औसतमा दुई पांग्रेबाहेक करिब ८ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।
तीमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा सडकखण्डको ट्राफिक चाप घट्ने, यात्रा समय छोटिने, इन्धन बचत हुने तथा काठमाडौं प्रवेश र बाहिरिने सवारी आवागमन थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ । सुरुङमार्ग सञ्चालनसँगै राजधानीको प्रमुख प्रवेशद्वारमा वर्षौंदेखि देखिँदै आएको सवारी जाम र यात्रुको सास्तीमा उल्लेखनीय कमी आउने विश्वास गरिएको छ । सुरुङमार्ग सञ्चालनका लागि सवारीसाधन शुल्क तोकिसकिएको छ । जसअनुसार कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनी बस, ट्रक र ट्रिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ ।
बस तथा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ भने ठूला ट्रक तथा हेभी सवारीका लागि प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका २०८१ चैत २५ मा जारी गरिएको हो । यो निर्देशिकाअनुसार सुरुङमार्गबाट पैदलयात्री, दुईपांग्रे (मोटरसाइकल), तीनपांग्रे र नन–मोटोराइज्ड सवारीलाई यात्रा गर्न निषेध गरिएको छ । त्यस्तै, अत्यधिक प्रज्वलनशील पदार्थ (पेट्रोल, डिजेल, ग्यास) र विस्फोटक पदार्थ बोकेका सवारीले पनि सुरुङमार्गमा प्रवेश पाउने छैनन् ।
आयोजनाअन्तर्गत मुख्य र रेस्क्यु गरी दुईवटा सुरुङमार्ग निर्माण गरिएको छ । धादिङको सिस्नेरीबाट सुरु भई काठमाडौंको नागढुंगामा निस्कने मुख्य सुरुङ २.६८८ किलोमिटर लामो छ । यो सुरुङ २०८१ वैशाख ३ मा खनेर सकिएको थियो । २.५५७ किलोमिटर लामो रेस्क्यु सुरुङ २०८० साउन २२ गते खनेर सकिएको थियो । सुरुमा १६ अर्ब लागत अनुमान गरिएको सुरुङमार्ग आयोजनामा निर्माण अवधिमा ठेकेदारको क्षतिपूर्ति दाबी, स्थानीय अवरोधलगायत कारणले लागत बढेर करिब २१ अर्ब रुपैयाँ पुगेको छ । अतिरिक्त लागत बराबरको सहुलियतपूर्ण ऋण जापान सरकारले उपलब्ध गराएको छ ।