नेभिगेशन
राजनीति
पार्टी पंक्तिलाई ओलीको निर्देशन

‘सडक र सदन दुवै मोर्चा सक्रिय बनाऔं’

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका सांसदहरूलाई संसद् र सडक दुवैमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार उनीहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा ओलीले मुलुकमा बढ्दै गएको बेथिति, अराजकता र गलत भाष्यविरूद्ध सडक र सदन दुवै मोर्चालाई सशक्त रूपमा अगाडि बढाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएका हुन् । 
सरकारले अर्थतन्त्रलाई थप समस्यामा पारेको र मिटरब्याज पीडितलाई धोका दिएको आरोप पनि लगाए । सडक आन्दोलन र संसदीय संघर्ष एकअर्काका पूरक भएको उल्लेख गर्दै उनले हालको राजनीतिक अवस्था दिशाविहीन र नीतिविहीन बन्दै गएको आरोप लगाए । ‘हामीले केही धक्का अवश्य खाएका छौं । धक्का लागेपछि मनोबल केही कमजोर हुनु स्वाभाविक हो । तर त्यहीँ रोकिनुहुँदैन, उठेर अघि बढ्नुपर्छ,’ उनले भने । 
पछिल्लो समय मुलुकमा अराजकता मौलाएको दाबी गरे । ‘अहिलेको राजनीति परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन तरिकाले चलिरहेको छ । लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी र संसदीय बाटाहरू हुन्छन् । हिंसा, आगजनी, तोडफोड, जबर्जस्ती, कब्जा र असंवैधानिक कुराहरू लोकतन्त्रमा हुँदैनन्,’ उनले भने,‘तर अहिलेको सरकार हत्याहिंसा, तोडफोड, कब्जा र आगजनीको आधारबाट बनेको हो । यसले राज्य पूर्णरूपमा अनुपस्थित छ र सर्वत्र अराजकता देखापर्दैछ ।’
ओलीले सामाजिक सञ्जालको प्रयोगप्रति पनि चिन्ता व्यक्त गरे । अहिले सामाजिक सञ्जाल असामाजिक गतिविधिको माध्यम बन्दै गएको उनको टिप्पणी छ । दर्ता, जवाफदेहिता र उत्तरदायित्वबिनै निराधार तथा असत्य सूचना फैलाउने प्रवृत्ति बढेको भन्दै उनले त्यसले समाजमा विकृति सिर्जना गरिरहेको बताए ।
त्यस्तै, अध्यक्ष ओलीले सरकारले मिटरब्याज पीडितलाई पुनः धोका दिएको पनि आरोप लगाए । सरकारले गरेका निर्णयको वास्तविक असर मिटरब्याज पीडितले केही समयपछि महसुस गर्ने दाबी गरे । ओलीले वर्तमान सरकारले अर्थतन्त्र सुधार गर्नुको सट्टा समस्यालाई लुकाएर अझ गहिरो बनाउने काम गरिरहेको दाबी गरे । मूल्यवृद्धिले गरिब वर्गमाथि थप भार परेको र सेयर बजारको अवस्थाले पनि सर्वसाधारणलाई राहत दिन नसकेको उनको भनाइ थियो । ‘अर्थतन्त्र उकास्ने होइन, डुबेको अर्थतन्त्रलाई डुबेको छैन भन्ने देखाउन झन् डुबाउने काम भइरहेको छ । मूल्यवृद्धिले गरिबलाई झन् पीडामा पारेको छ,’ उनले भने । 
त्यस्तै, अध्यक्ष ओलीले विदेशिने युवाको संख्या बढेको भन्दै  सरकारको दोहोरो मापदण्डप्रति पनि प्रश्न उठाए । गत वर्ष विदेश जानेको संख्या बढ्दा त्यसलाई ठूलो मुद्दा बनाइएको भन्दै उनले अहिले  संख्या अझ बढेको दाबी गरे । ‘पोहोर विदेशिने संख्या बढ्यो भनेर ठूलो हल्ला गरियो । अहिले त्योभन्दा बढी संख्या पुगेको छ, तर अहिले भने विदेश जानु युवाको अधिकार हो भन्ने तर्क अघि सारिएको छ,’ उनले भने । 
त्यस्तै, कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको कामभन्दा हल्ला बढी भएको बताए । उनले लोकप्रिय जनादेश प्राप्त सरकारले नागरिकलाई आश्वस्त बनाउनुको सट्टा थप सन्त्रस्त बनाएको आरोप लगाउँदै एमालेको संसदीय भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 
कार्यक्रममा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । सोही सन्दर्भ जोड्दै उनले भने, ‘काम बाहेक केही नगर्ने भन्ने प्रधानमन्त्रीको शासनमा विद्युत् आपूर्तिको समस्या झेल्दै हामी कार्यक्रम सुरु गरिरहेका छौं । भर्चुअल दुनियाँमा चर्चा धेरै भए पनि नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम हुन सकेको छैन ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्