नेभिगेशन
राजनीति

कांग्रेस संस्थापनइतरले अघि सा-यो ५ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टी भित्रको विवाद समाधानका लागि ५ बुँदे प्रस्ताव अघि सारेको छ । आइतबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा नेता मीनबहादुर विश्वकर्माले पार्टी एकताका लागि भएका सबै प्रयास उपलब्धिमूलक हुन नसकेको बताए । उनले संस्थापन पक्षले एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप लगाउँदै नेतृत्व तहबाट आवश्यक लचकता, धैर्य र राजनीतिक इच्छाशक्ति नदेखिएकाले सहमति हुन नसकेको दाबी गरे ।
उनले पार्टीको केन्द्रीय कार्यालय सानेपामा अधिकार केन्द्रित गरिएको आरोपसमेत लगाए । समस्या समाधानका लागि पर्याप्त सहनशीलता र तत्परता नदेखिएको तथा संवादहीनताको अवस्था लम्बिँदै गएकाले अब अलमलमा बस्ने अवस्था नरहेको उनको भनाइ थियो । ‘अब राष्ट्रिय भेलामार्फत पार्टीको भावी दिशा तय गरिनेछ,’ उनले भने ।
हाल सम्पर्क कार्यालयमार्फत आफ्ना गतिविधि सञ्चालन गरिरहेको संस्थापनइतर समूहले राष्ट्रिय भेलामार्फत संगठनात्मक अभियानलाई थप सशक्त बनाउने जनाएको छ । भेलामा पार्टीको वर्तमान राजनीतिक अवस्था, आन्तरिक लोकतन्त्र, महाधिवेशनको तयारी र आगामी रणनीतिबारे व्यापक छलफल हुने जनाइएको छ ।
पत्रकार सम्मेलनमा संस्थापनइतर पक्षले १५औं महाधिवेशनका लागि पाँचबुँदे प्रस्तावसमेत सार्वजनिक गरेको छ । प्रस्तावमा १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनबाट बनेको कार्यसमितिसँग समायोजन गर्दै सभापति गगनकुमार थापाको नेतृत्वमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने उल्लेख छ । उसो त्यसअघि नै सभापति थापाले यो प्रस्तावमा तयार नभएको बताएका छन् । 
यस्तै, सभापति थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्ने, पुनर्गठित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट १५औं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने तथा वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसम्बन्धी विभिन्न समितिहरू गठन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
क्रियाशील सदस्यताको विषयलाई महाधिवेशनको मूल आधार मानेको संस्थापनइतर पक्षले तत्कालीन महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई स्वतः १५औं महाधिवेशनमा सहभागी गराउनुपर्ने माग गरेको छ । उनीहरूको डिजिटल अभिलेखीकरणलाई पुनः नवीकरणसँग नजोडी निरन्तरता दिनुपर्ने प्रस्ताव पनि समूहले अघि सारेको छ ।
संस्थापनइतर पक्षले समयमै नियमित महाधिवेशन सम्पन्न गर्न स्पष्ट कार्ययोजना आवश्यक रहेको उल्लेख गर्दै पार्टीभित्र वैधानिकता, आन्तरिक लोकतन्त्र र कार्यकर्ताको अधिकार सुनिश्चित हुने वातावरण निर्माण गर्न नेतृत्व गम्भीर हुनुपर्ने जनाएको छ ।
यसैबीच संस्थापनइतर समूहले बिपी स्मृति दिवसका अवसरमा साउन ६ गते काठमाडौंको प्रज्ञा भवनमा कार्यक्रम गर्ने भएको छ । समारोह आयोजना गर्न कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले बिपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको हो । 
‘नेपाली कांग्रेसका संस्थापक नेता, प्रजातान्त्रिक समाजवादका प्रणेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, जननायक बीपी कोइरालाको ४४औं स्मृति दिवस यही श्रावण ६ गते काठमाडौंको प्रज्ञा भवन कमलादीमा भव्यरूपमा सम्पन्न गर्ने,’ बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ । यस्तै, आवश्यकता अनुसार प्रचारप्रसार समिति, व्यवस्थापन समितिलगायतका विभिन्न समितिहरू गठन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्