नेभिगेशन
अर्थतन्त्र

वैदेशिक रोजगार बिमा दाबी भुक्तानी घरदैलोमै पुगेर गर्ने व्यवस्था गरिँदै

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको बिमा व्यवस्थापनलाई थप सरल, प्रभावकारी र श्रमिकमैत्री बनाउन महत्त्वपूर्ण निर्णयहरू गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ को मर्म अनुरूप श्रमिकहरूको सुरक्षा र सुविधालाई प्राथमिकता दिँदै नयाँ कार्य योजना अघि सारेको हो । मन्त्रालयले श्रमिकको मृत्यु वा अंगभंग भएको अवस्थामा बिमा दाबी प्रक्रियालाई सहज बनाउन पीडित श्रमिकको घर÷परिवारमै पुगेर सहजीकरण गर्ने निर्णय गरेको छ ।यो निर्णय कार्यान्वयन गर्न नेपाल बिमा प्राधिकरणलाई पत्र लेखिने मन्त्रालयले जनाएको छ । बिमा रकमको दाबी र भुक्तानी प्रक्रियालाई पारदर्शी बनाउन अब हकवालाको बैंक खातामै सिधै रकम पुग्ने गरी व्यवस्था मिलाइने भएको छ । यसका लागि मोबाइल बैंकिङ र अन्य विद्युतीय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) को प्रयोग गरिने पनि मन्त्रालयले जनाएको छ । सेवा प्रवाहलाई छिटो–छरितो बनाउन वैदेशिक रोजगार बोर्ड र नेपाल बिमा प्राधिकरणको डिजिटल प्रणालीबिच अन्तर–आबद्धता (एपिआइ) गर्ने निर्णय गरिएको छ । साथै, नेपाल बिमा प्राधिकरण, एनआइडि र भिइआरएसपी–एमआइएसबीच समन्वयात्मक पहुँच कायम गरी सूचना प्रणालीलाई एकीकृत गरिने भएको छ ।
मन्त्रालयका अनुसार श्रमिकको सुरक्षाको दायरा (कभरेज) बढाउन मन्त्रालयका उपसचिवको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरिएको छ । यो समितिले हालको बिमा र दाबी भुक्तानीको अवस्था, अन्तर्राष्ट्रिय अभ्यास र नेपालको परिवेशको विश्लेषण, बिमाको दायरा विस्तार गर्दा प्रिमियममा आउने फरकको अध्ययन र बिमा सेवालाई श्रमिकमैत्री बनाउन आवश्यक सुधारका सुझावहरू विश्लेषण र समीक्षा गरी प्रतिवेदन पेस गर्नेछ । बिमाको आवश्यकता र महत्त्वबारे श्रमिकका परिवार र स्थानीय तहका पदाधिकारीहरूलाई जानकारी गराउन मन्त्रालयले विशेष पहल गर्ने भएको  छ। यसका लागि नेपाल बिमा प्राधिकरण, बिमा कम्पनीहरू र मन्त्रालय मातहतका निकायहरूले संयुक्त रूपमा बिमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ । यी निर्णयहरूको कार्यान्वयनबाट वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनीहरूका परिवारले झन्झटरहित ढंगले बिमा सुविधा प्राप्त  गर्ने मन्त्रालयको दाबी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्