नेभिगेशन
अर्थतन्त्र

गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याइने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानूनी ढंगले व्यापार गर्नेहरूलाई कारवाही गर्ने भएको छ । बजारमा लेबल नभएका, न्यून गुणस्तरका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको उजुरी बढेपछि विभागले कारवाहीको चेतावनी दिएको हो । विभागले चालू आर्थिक वर्षमा गैरकानूनी व्यापारिक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन कडाईका साथ काम गर्ने जनाएको छ । विभिन्न पसल तथा डिजिटल (अनलाइन) प्लेटफर्मका माध्यमबाट समेत दैनिक उपभोगका अत्यावश्यक खाद्य, पेय पदार्थ र लत्ताकपडाहरू अवैध रूपमा बिक्री भइरहेको भनी प्राप्त उजुरी र जनगुनासोप्रति उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ एवं नियमावली २०७६ बमोजिम उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने हुँदा गैरकानूनी ढंगले व्यापार नगर्न आग्रह समेत गरेको छ । कानून विपरीत गरिने मिसावट, चोरी पैठारी र कम गुणस्तरका सामान बिक्री गर्ने जस्ता कार्यहरू पूर्ण रूपमा दण्डनीय र अक्षम्य रहेकाले कारवाहीको दायराबाट कोही उम्कन नसक्ने विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्