नेभिगेशन
अर्थतन्त्र

जीडब्लुएमको ‘ड्रागन आर्मर ब्याट्री’ले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित

काठमाडौं । विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग तीव्ररूपमा बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता उपभोक्ताको प्रमुख चासोको विषय बनेको छ । यस्ता आवश्यकतालाई मध्यनजर गर्दै जीडब्लुएमले आफ्नै ब्याट्री प्रविधि ‘ड्रागन आर्मर ब्याट्री’ विकास गरी विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गरेको जनाएको छ । धेरैजसो अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने अभ्यास अपनाउने भए पनि जीडब्लुएम विश्वका सीमित अटोमोबाइल उत्पादकमध्ये एक यो कम्पनीले आफ्नो भगिनी कम्पनी एसभोल्ट इनर्जी मार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन आफैं गर्दै आएको छ । ब्याट्रीको गुणस्तर, सुरक्षा र विश्वसनीयतामाथि प्रत्यक्ष नियन्त्रण कायम गर्न सफल भएको कम्पनीले जनाएको छ ।

नेपालमा हालै सार्वजनिक गरिएको जीडब्लुएम ओरा–५ विद्युतीय एसयूभीमा पनि यही ड्रागन आर्मर ब्याट्री प्रयोग गरिएको छ । एसभोल्ट इनर्जीले वर्षौंको अनुसन्धान र प्रविधि विकासपछि तयार पारेको यो ब्याट्रीमा आगो तथा पानी प्रतिरोधी उच्च सुरक्षा, लामो दूरीसम्म चल्ने क्षमता, छिटो चार्ज हुने सुविधा तथा उत्कृष्ट कार्यसम्पादनलाई एकैसाथ समेटिएको कम्पनीले जनाएको छ । यस ब्याट्रीलाई ‘ड्रागन आर्मर’ नाम दिइनुको कारण यसको विशेष आन्तरिक संरचना हो । ब्याट्रीभित्र रहेका सेलहरू ड्रागनको खप्टाजस्तै तह–तहमा मिलाएर राखिएका छन् । यसले विशेष प्रकारको तलतर्फ निष्कासन हुने हावाप्रवाह प्रणाली (डाउनवर्ड भेन्टिङ प्रणाली) तयार गर्छ । कुनै असामान्य अवस्थाका कारण अत्यधिक ताप वा आगो उत्पन्न भएमा उक्त प्रणालीले त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई सुरक्षित रूपमा तलतर्फ बाहिर निकाल्ने काम गर्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यही विशेष संरचनाले यात्रुका लागि थप सुरक्षात्मक कवचको रूपमा काम गर्ने भएकाले यसलाई ‘ड्रागन आर्मर’ नाम दिइएको हो । जीडब्लुएमले आफ्नै प्रविधिमा आधारित ब्याट्री विकासमार्फत विद्युतीय सवारीलाई अझ सुरक्षित, भरपर्दो र दीर्घकालीन बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्