नेभिगेशन
अर्थतन्त्र

इप्पानको संशोधित विधान अनुमोदन, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हट्यो

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को संशोधित विधान आधिकारिक रूपमा अनुमोदन भएपछि संस्थाको नेतृत्व चयन प्रणालीमा महत्त्वपूर्ण परिवर्तन भएको छ । संशोधित विधान अनुसार आगामी महाधिवेशनबाट यसअघिको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने पुरानो व्यवस्थामा परिवर्तन भएको हो । विधानमा गरिएको नयाँ व्यवस्था अनुसार आगामी महाधिवेशनदेखि इप्पानको कार्यसमिति चयन गर्दा सबै पदका पदाधिकारी निर्वाचनमार्फत चयन हुनेछन् । अध्यक्ष पदका उम्मेदवारले कम्तीमा एक कार्यकाल इप्पानको कार्यसमितिमा बसेर अनुभव हासिल गरेको हुनुपर्ने प्रावधान संशोधित विधानमा राखिएको छ । यसले नेतृत्व चयनलाई थप प्रतिस्पर्धी, पारदर्शी र लोकतान्त्रिक बनाउने ऊर्जा प्रवद्र्धकहरूको अपेक्षा छ ।

यसअघिको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अर्को कार्यकालमा अध्यक्ष बन्ने प्रावधान थियो । यही व्यवस्था बमोजिम मोहनकुमार डाँगी इप्पानको अहिलेको कार्यसमितिको अध्यक्ष बनेका छन् । यो व्यवस्था इप्पानको वर्तमान अध्यक्ष डाँगीको हकमा मात्रै कार्यान्यन भएको हो । इप्पानभित्र नै सबै पदमा खुला प्रतिस्पर्धाबाट निर्वाचन हुनुपर्ने माग उठेपछि विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था संशोधन गरिएको हो । इप्पानका अनुसार अब अध्यक्षबाहेक अन्य पदमा योग्य सदस्यहरूले खुला रूपमा उम्मेदवारी दिन सक्ने छन् । अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्न भने कार्यसमितिमा काम गरेको अनुभव अनिवार्य बनाइएको छ ।

संशोधित विधानले संस्थाको संरचनामा पनि केही परिवर्तन गरेको छ । संशोधित विधान अनुसार इप्पानमा उपाध्यक्ष र सचिवको संख्या बढाइएको छ । यसले संस्थाको गतिविधि तथा जिम्मेवारीलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्