काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो कारोबार दिन सोमबार ४१.७० अंकले २,७१९.२४ अंकमा उक्लिएको छ । पछिल्ला केही कारोबारदेखि देखिएको सकारात्मक लयले निरन्तरता पाउँदा बजारमा लगानीकर्ताको उत्साह बढेसँगै नेप्से सूचक १.५५ प्रतिशतले बढेको हो । यो पछिल्लो एक महिनामा भएको उच्च वृद्धि हो । सोमबार दिनभर ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कुल १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता शेयर ६७ हजार १५५ पटकको कारोबारमार्फत खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
यो दिन कुल ३४३ कम्पनीको शेयर खरिद–बिक्री भएको छ । पछिल्ला दिनमा सरकारले अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रसँगको परामर्श बढाउँदा यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको हो । सोमबार मात्रै प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग छलफल गरी देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए । सोमबार कारोबार भएका कम्पनीमध्ये २३९ कम्पनीको शेयर मूल्य बढेको छ । ३२ कम्पनीमा लगानीकर्ताले मात्रै गुमाएका छन् । ५ कम्पनीको शेयर मूल्य स्थिर रह्यो । यो दिन सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह ३.२२ प्रतिशत बढेको छ । दोस्रो नम्बरमा रहेको अन्य समूह २.८१ प्रतिशत बढेको नेप्सेले जनाएको छ । यस्तै, जलविद्युत समूह २.७९ प्रतिशत बढ्दा होटल तथा पर्यटन समूह १.९८ प्रतिशतले बढेको छ । लगानी समूह १.५५ प्रतिशत, विकास बैंक समूह १.४८ प्रतिशत, व्यापार समूह १.१४ प्रतिशत तथा वित्त समूह ०.९३ प्रतिशतले वृद्धि भएको छ । बीमा समूहमा पनि हरियाली देखिएको छ ।
यो समूह ०.८४ प्रतिशत तथा निर्जीवन बीमा समूह ०.४४ प्रतिशत बढ्दा बजारको ठूलो हिस्सा ओगटेको बैंकिङ समूह ०.५५ प्रतिशत, लघुवित्त समूह ०.३७ प्रतिशत बढेको नेप्सेले जनाएको छ । सोमबार म्युचुअल फन्ड समूह भने ०.०२ प्रतिशतले घटेको छ । सोमबार एभरेस्ट कलर लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी १४.९७ प्रतिशत ले बढेको छ । भखरै नेप्सेमा सूचिकृत भएको यो कम्पनीको शेयर मूल्य कित्तामा ४८.५० रुपैयाँ बढेर ३७२ रुपैयाँ पुगेको छ । रिड्ज लाइन इनर्जीको शेयर मूल्य पनि १४.६४ प्रतिशतले बढेको छ । यो कम्पनीको शेयर मूल्य ११७ रुपैयाँ बढेर ९१६ रुपैयाँ पुगेको छ ।
यस्तै, श्रीनगर एग्रिटेक १०.९५ प्रतिशत, सोलु हाइड्रोपावर ९.५६ प्रतिशत र रिलायन्स स्पिनिङ मिल्स कम्पनीको शेयर ९.३१ प्रतिशतले उकालो लागेको छ । आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले भने गुमाएका छन् । यो कम्पनीको शेयर मूल्य ६.८६ प्रतिशतल घटेको छ । लक्ष्मी उन्नति कोषको शेयर मूल्य ५.१५ प्रतिशतले घट्दा आरबीबीएल डिबेन्चर २०८८ ४.७१ प्रतिशत, एनबीबीएल डिबेन्चर २०८५ ४.२९ प्रतिशत तथा ज्योति विकास बैंक बन्ड २०८७ ३.७७ प्रतिशतले घटेका छन् । कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो । सोमबार यो कम्पनीले २९ करोड १५ लाख ५२ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार गरेको छ । रिलायन्स स्पिनिङ मिल्सको २४ करोड ४६ लाख रुपैयाँ, रिडी पावरको २० करोड ६६ लाख रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकको १९ करोड ८ लाख रुपैयाँ तथा नेसनल हाइड्रोपावर कम्पनीको १५ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबारको वृद्धिसँगै नेप्सेको कूल बजार पूँजीकरण ४६ खर्ब ७३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने फ्लोट बजार पूँजीकरण १५ खर्ब ७५ अर्ब १८ करोड रुपैयाँ कायम भएको छ ।