नेभिगेशन
अर्थतन्त्र

डब्लूडब्लूएफ नेपाललाई मेटलाइफ फाउन्डेसनको १ करोड ८४ लाख सहयोग

काठमाडौं । मेटलाइफ फाउन्डेसनले बर्दिया जिल्लाको राजापुर नगरपालिकामा बाढी जोखिम न्यूनीकरण, पारिस्थितिक प्रणाली संरक्षण तथा स्थानीय समुदायको दिगो जीविकोपार्जन प्रवद्र्धन गर्ने उद्देश्यले डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर (करिब १ करोड ८४ लाख ८६ हजार रुपैयाँ) अनुदान उपलब्ध गराएको छ । ‘जीवन’ नाम दिइएको एकवर्षे परियोजनामार्फत तल्लो कर्णाली नदी बेसिन क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत सोनाहा र थारू समुदायलाई सहयोग गर्ने उद्देश्यले यो अनुदान सहायता उपलब्ध गराइएको हो । यस क्षेत्रमा बारम्बार आउने बाढी, नदी कटान तथा माछाको घट्दो संख्याका कारण स्थानीय बासिन्दाको जीविकोपार्जन र खाद्य सुरक्षामा चुनौती बढ्दै गएको छ ।

परियोजनाले करिब १४० न्यून आय भएका घरपरिवारको जलवायु उत्थानशीलता अभिवृद्धि गर्नुका साथै उनीहरूका लागि नयाँ आर्थिक अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ । यसअन्तर्गत डब्लूडब्लूएफ नेपालले बाढीको जोखिम न्यूनीकरण गर्न जैविक तटबन्ध (बायो–डाइक), हरित पट्टी विकास तथा खोल्सा पुनःस्थापनाजस्ता प्रकृतिमा आधारित समाधान कार्यान्वयन गर्नेछ । यी उपायले कृषि भूमि तथा बस्तीलाई डुबानबाट जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । परियोजनाले पारिस्थितिक प्रणाली पुनःस्थापनासँगै दिगो तथा विविधीकृत जीविकोपार्जनका अवसर पनि विस्तार गर्नेछ । होमस्टेमा आधारित पर्यापर्यटन प्रवद्र्धन, पशुपालन तथा कुखुरापालनमा सहयोग गर्नुका साथै उत्पादनको बजार पहुँच विस्तारजस्ता कार्यक्रम सञ्चालन गरिनेछन् । यससँगै मेटलाइफका कर्मचारीहरूले स्वयंसेवी रूपमा वित्तीय साक्षरता, बजेट व्यवस्थापन तथा साना व्यवसाय सञ्चालनसम्बन्धी तालिम सञ्चालन गरी समुदायको क्षमता विकासमा योगदान दिनेछन् । यस पहलले घट्दो माछा स्रोतमा स्थानीय समुदायको निर्भरता घटाउँदै कर्णाली नदीको जैविक विविधता संरक्षणमा समेत योगदान पु¥याउने विश्वास गरिएको छ ।

विशेषगरी नदी डल्फिन र घडियालजस्ता संकटापन्न प्रजातिको संरक्षणमा पनि परियोजनाले सहयोग गर्ने जनाइएको छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले जोखिम व्यवस्थापनमा पूर्वतयारी र रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गर्दै डब्लूडब्लूएफ नेपालसँगको सहकार्यले बाढी प्रभावित समुदायलाई प्रत्यक्ष सहयोग गर्ने अवसर प्रदान गरेको बताए । जीवन, जीविकोपार्जन र पारिस्थितिक प्रणालीको संरक्षणलाई एकैसाथ अघि बढाउने समाधानमार्फत कर्णाली क्षेत्रका समुदायलाई थप सुरक्षित, सक्षम र उत्थानशील बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।

त्यसैगरी, डब्लूडब्लूएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले मेटलाइफ फाउन्डेसनसँगको सहकार्यले राजापुरका सोनाहा र थारू समुदायसँग दीर्घकालीन रूपमा काम गर्ने अवसर थप सुदृढ भएको बताए । उनले यसअघि कर्णाली क्षेत्रमा ऊद तथा नदीजन्य बासस्थान संरक्षणसम्बन्धी परियोजना सफलतापूर्वक सम्पन्न गरिएको उल्लेख गर्दै अब ‘जीवन’ परियोजनामार्फत जैविक तटबन्ध, हरित पट्टी, पर्यापर्यटन, पशुपालन र बजार पहुँच विस्तारमार्फत समुदायको आर्थिक तथा सामाजिक उत्थानमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्