नेभिगेशन
राजनीति

देउवा साउनभित्रै देश फर्कने

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा स्वदेश फर्कने भएका छन् । फागुन २१ को निर्वाचनअघि उपचारका लागि सिंगापुर गएका उनी त्यतैबाट हङकङ पुगेका थिए । यता सरकारले देउवाविरुद्ध पक्राउ पुर्जी जारी गर्दै रेडकर्नर नोटिस जारी गर्ने प्रयास गरेको थियो । त्यसबेला आउन नमानेका देउवाले मंगलबार विज्ञप्ति जारी गर्दै स्वदेश फर्कने बताएका हुन् ।
‘म नेपाली भूमिमा पुनः पाइला टेक्दैछु, सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु,’ देउवाले भनेका छन् । उनले साउन महिनाभित्रै स्वदेश फर्कने पनि उल्लेख गरेका छन् । ‘प्रतिशोध होइन, सहकार्य चाहिएको छ । त्यसैले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ,’ उनले भनेका छन् ।
विगत केही महिनादेखि स्वास्थ्य उपचार सिलसिलामा आफू विदेशमा रहे पनि आफ्नो मन, सोच र चिन्ता निरन्तर देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको उनले बताएका छन् । नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई गम्भीर चासो र जिम्मेवारीका साथ निरन्तर नियालिरहेको भन्दै उनले भनेका छन्, ‘भौतिक र मनोवैज्ञानिक त्रास सिर्जना गरेर प्रतिपक्षलाई दबाउने प्रवृत्ति कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैन ।’
पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी तत्कालिन परराष्ट्रमन्त्री आरजु राणामाथि  जेनजी आन्दोलन क्रममा गत भदौ २४ गते बुढानिलकण्ठस्थित निवासमै आक्रमण भएको थियो । 
सरकारले विगतका सत्ता साझेदार दलका शीर्ष नेताहरुलाई पक्राउ गरेर सामाजिक सञ्जालमा वाहवाही कमाउने दाउमा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता रमेश लेखक र एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरेको थियो । तीनै जना अदालती आदेशमा छुटेका थिए । देउवा दम्पतीलाई पक्राउ गर्न रेडक कर्नर नोटिस जारी गराउन खोजेको थियो तर, अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) अस्वीकार गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्