नेभिगेशन
अर्थतन्त्र

तयारी पोसाक उद्योग प्रवर्धन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक (टेक्सटाइल) उद्योगको विकास र प्रवर्धनलाई सरकारले उच्च प्राथमिकतामा राख्ने आश्वासन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगको विस्तार, उत्पादन वृद्धि र निर्यात प्रवर्धनका लागि सरकार सबै प्रकारको आवश्यक सहजीकरण गर्न तयार रहेको बताएका हुन् ।

संघका पदाधिकारीले  उठाएका मागअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठनको प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री शाहले सम्बन्धित मन्त्रीलाई निर्देशन समेत दिएका छन् । काउन्सिल गठनपछि स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाकको उत्पादन र निर्यात विस्तार तथा आयात व्यवस्थापन प्रभावकारी हुने अपेक्षा गरिएको छ । त्यसैगरी, निजी क्षेत्रका बन्द तथा रुग्ण तयारी पोसाक उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउन उद्योग मन्त्रालयलाई आवश्यक पहल गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् । प्रधानमन्त्री शाहले निःशुल्क व्यापार सम्झौता (एफटीए) विस्तार, वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्ने तथा अमेरिकालगायतका बजारमा ‘टेस्टिङ सर्टिफिकेसन’ अभावका कारण रोकिएका तयारी पोसाक तथा अन्य वस्तुको निर्यात सहज बनाउनका लागि आवश्यक पहल गर्न परराष्ट्र मन्त्रालयलाइ निर्देशन दिएका छन् । उनले ‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ अवधारणालाई सफल बनाउन आवश्यक दक्ष जनशक्ति उत्पादनमा पनि सरकारले प्राथमिकता दिने प्रतिबद्धता जनाए ।
प्रधानमन्त्री शाहसँगको छलफलका क्रममा उद्योगीहरूले सरकारको नीति तथा कार्यक्रममा समावेश भए पनि बजेट विनियोजन नभएको ‘ग्रीन गार्मेन्ट भिलेज’ परियोजना कार्यान्वयनमा ढिलाइ भएको गुनासो गरेका थिए । उद्योगीहरूको गुनासोको जवाफदिँदै प्रधानमन्त्री शाहले उपयुक्त स्थानमा जग्गा पहिचान गर्न उद्योगीहरूलाई आग्रह गर्दै आवश्यक बजेट व्यवस्थापन गरिने आश्वासन दिए । प्रधानमन्त्री शाहले २०४० सालतिर नेपालमा प्रचलनमा रहेको ‘निर्यातका आधारमा आयात’ प्रणालीबारे पुनः अध्ययन गरी आवश्यक नीतिगत व्यवस्था गर्न पनि उद्योगीहरूलाई सुझाव दिए । नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा रूपान्तरण गर्न तयारी पोसाक उद्योगको महŒवपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले उद्योगले भोगिरहेका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताए । साथै, तयारी पोसाक उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ तथा सहायक सामग्रीसमेत स्वदेशमै उत्पादन गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा उनले जोड दिए । छलफलमा नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष वसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्