नेभिगेशन
अर्थतन्त्र

कर अधिकृत घुस लिँदालिँदै पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्दै आन्तरिक राजस्व कार्यालयका एक अधिकृतलाई घुसमा लिएको ५ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको छ । आन्तरिक राजस्व लहानका कर अधिकृत युवराज पाललाई बिहीबार रंगेहात पक्राउ गरिएको आयोगले जनाएको हो ।
आयोगका अनुसार पालले आर्थिक वर्ष २०७८÷७९ को पूर्ण कर लेखा परीक्षणका लागि पेस गरिएका कागजात नमिलेको भन्दै सेवाग्राहीलाई विभिन्न बहानामा दुःख–हैरानी दिँदै घुस मागेका थिए । प्राप्त सूचनाका आधारमा पाललाई प्रमाणसहित नियन्त्रणमा लिन अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले स्टिङ अपरेसन गरेको थियो ।
पाललाई सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा लहान–६ स्थित आन्तरिक राजस्व कार्यालयभित्र उनकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । घुसस्वरूप लिएको पाँच लाख रुपैयाँ नगद बरामद भएको छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही अघि बढाइने भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्