नेभिगेशन
अर्थतन्त्र

२३औं एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड भदौ १८ मा हुने

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले ‘२३औं एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८३’ आगामी भदौ १८ गते नेपाल पुलिस क्लबको ‘द ब्लु पवेलियन’मा आयोजना गर्ने भएको छ । अवार्डको घोषणा राजधानीमा विशेष कार्यक्रम आयोजना गरि गरिएको हो । अवार्डका लागि मुख्य प्रायोजकका रूपमा गोल्छा ग्रुपसँग सहकार्यलाई निरन्तरता दिइएको छ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । दुई पक्षबीच पाँच वर्षका लागि भएको सम्झौताको यो दोस्रो वर्ष हो भने गोल्छा ग्रुप लगातार १९औं पटक अवार्डसँग आबद्ध भएको छ ।

निर्देशक गोल्छाले खेलाडी, प्रशिक्षक तथा खेल क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्दै नेपाली खेलकुदको विकासमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । अध्यक्ष अधिकारीले पनि नेपालको प्रतिष्ठित व्यावसायिक घराना गोल्छा ग्रुपको साथले अवार्डलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुगेको बताए ।

मञ्चका महासचिव अञ्जन खड्काका अनुसार यस वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट र एसियन स्पोट्र्स जर्नालिस्ट गरी ९ विधामा पुरस्कार प्रदान गरिनेछ । पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनभित्र सार्वजनिक गरिनेछ, जसमा प्रत्येक विधामा पाँच–पाँच जना रहनेछन् । पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य चार विधाका सम्मानितलाई जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ । लाइफटाइम एचिभमेन्ट, स्पेसल, पारा एथलिट सम्मान र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्डका विजेताको घोषणा अवार्ड समारोहकै दिन गरिनेछ । अवार्ड सम्पन्न गर्न अध्यक्ष अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको मञ्चले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्