नेभिगेशन
अर्थतन्त्र

अर्गानिक कृषि उत्पादन प्रमाणीकरण एजेन्सी स्थापना गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त अर्गानिक कृषि उत्पादन प्रमाणीकरण प्रणाली स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार अर्गानिक एसोसियसन नेपालका पदाधिकारीले छलफलका क्रममा राखेको मागको सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अर्गानिक उत्पादनको प्रमाणीकरण व्यवस्था देशभित्रै मिलाउने विषयमा आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित नियकालाई निर्देशन दिएका हुन् । अर्गानिक कृषि उत्पादन व्यवसायीबाट  विदेशी प्रमाणीकरणमा निर्भर हुँदा उच्च लागत व्यहोर्नुपरेको गुनासो आएपछि सरकारले त्यसको दीर्घकालीन समाधानतर्फ पहल थालेको हो ।

छलफलमा एसोसियसनका पदाधिकारीहरूले अन्तर्राष्ट्रिय प्रमाणीकरण विदेशबाट गर्नुपर्ने बाध्यताका कारण ठूलो आर्थिक भार पर्ने भएकाले सरकारको निगरानीमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना गर्नुपर्ने माग गरेका थिए । सोही मागलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई आवश्यक तयारी अघि बढाउन निर्देशन दिएका हुन् । एसोसिएसनका पदाधिकारीहरूले अर्गानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरणका लागि सरकारले यसअघि उपलब्ध गराउँदै आएको ७५ प्रतिशतसम्मको अनुदान दुई वर्षदेखि रोकिएको भन्दै त्यसलाई पुनः सञ्चालन गर्न पनि आग्रह गरेका थिए । नेपालमै अन्तर्राष्ट्रियस्तरको प्रमाणीकरण एजेन्सी स्थापना नभएसम्म उक्त अनुदानलाई निरन्तरता दिनुपर्ने विषयमा प्रधानमन्त्री शाहले सकारात्मक धारणा राखेका छन् । प्रधानमन्त्री शाहले अनियन्त्रित रूपमा भइरहेको रासायनिक मल र विषादीको प्रयोग नियन्त्रण गर्दै अर्गानिक कृषिको विस्तारका लागि सरकारले आवश्यक नीतिगत र व्यावहारिक कदम चाल्ने बताए ।

छलफलका क्रममा प्रांगारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई अनुदान उपलब्ध गराउनुपर्ने माग पनि उठाइएको थियो । त्यसअनुसार, आवश्यक व्यवस्था गर्न प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । साथै, रासायनिक मलले पाउने सुविधा सरह प्रांगारिक मलको उत्पादन र खरिदमा पनि समान सुविधा उपलब्ध गराउने विषयमा सरकार सकारात्मक रहेको उनले बताए । अर्गानिक उत्पादन निर्यातमा सरकारले उपलब्ध गराउँदै आएको अनुदान दुई वर्षदेखि रोकिएको विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्री शाहले उक्त समस्या कानुनी रूपमा समाधान गर्न सम्बन्धित मन्त्रालयले आवश्यक कार्यविधि तयार गरिरहेको जानकारी दिए । छलफलमा अर्गानिक एसोसियसन नेपालका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरू, गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य सहभागी थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्