नेभिगेशन
अर्थतन्त्र

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रशासनलाई करदातामैत्री बनाउन र स्वेच्छिक कर अनुपालनलाई प्रोत्साहन गर्दै करदातालाई दपेटेर होइन, खुसी पारेर राजस्व संकलन गर्न कर प्रशासकहरूलाई निर्देशन दिएका छन् । बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा आयोजित देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै मन्त्री वाग्लेले करदातामा डर र त्रास सिर्जना गरेर होइन, विश्वास र सहजीकरणमार्फत करको दायरा विस्तार गर्नुपर्ने बताए । बजारमा कर प्रशासनमा सुधार आएको, कर तिर्न सहज भएको र करदाता त्रसित नरहेको सन्देश जानुपर्ने उनको भनाइ थियो । उनले कर प्रशासनलाई प्रभावकारी बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिसम्बन्धी कुनै समस्या भए खुलेर जानकारी गराउन पनि निर्देशन दिए । उत्कृष्ट कार्यसम्पादन गर्ने र राज्यलाई बढी लाभ पु¥याउने कर्मचारीलाई प्रोत्साहन गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए । अर्थमन्त्री वाग्लेले करदाता सन्तुष्ट हुने वातावरण सिर्जना गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिए । 
चालु आर्थिक वर्षको ‘मिसन १६ खर्ब’अन्तर्गत आन्तरिक राजस्वतर्फको लक्ष्य हासिल गर्न सबै कर्मचारी जिम्मेवार भएर लाग्नुपर्ने उनले बताए । चालु आर्थिक वर्षको बजेटले अर्थतन्त्रलाई नयाँ दिशातर्फ मोडेको उल्लेख गर्दै आगामी ४ आर्थिक वर्षका बजेटमार्फत सरकारले निर्माण गर्न खोजेको अर्थतन्त्रको स्पष्ट आधार देखिने उनले बताए । बजेटमा घोषणा गरिएका कर छुट तथा प्रोत्साहन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न, करदाता सचेतना बढाउन र कारोबारलाई डिजिटल बनाउन पनि उनले विभागीय नेतृत्वलाई निर्देशन दिए । मन्त्री वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर ल्याउन सरकारले आवश्यक पहल गरिरहेको उल्लेख गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनले पनि गम्भीरतापूर्वक निगरानी गर्नुपर्ने बताए । साथै, कर प्रशासकहरूको वृत्तिविकास कार्यसम्पादन र राज्यप्रतिको योगदानका आधारमा हुने उल्लेख गर्दै सरुवाका लागि कुनै पनि प्रकारको ‘सोर्सफोर्स’ प्रयोग नगर्न कर्मचारीहरूलाई आग्रह गरे ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्