नेभिगेशन
अर्थतन्त्र

प्राधिकरणले विद्युतीय दुर्घटनामा दुवै हात गुमाएका बालकलाई क्षतिपूर्ति दिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व)को त्रिवेणी गाउँपालिका–२, घुसेनीमा ११ केभी विद्युत लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका एक बालकलाई उपचार खर्चसहित १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार, क्षतिपूर्ति तथा कुरुवा खर्चसमेत समेटिएको उक्त रकम स्वीकृत गरेको हो । त्रिवेणी गाउँपालिका–२ स्थित आमा समूहको भवनको छतमा खेलिरहेका बेला बालकले नजिकै रहेको ११ केभी विद्युत लाइनको तार छोएपछि दुर्घटना भएको थियो । स्वीकृत रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने जनाइएको छ । विद्युत प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ अनुसार विद्युत दुर्घटनाबाट प्रभावितलाई क्षतिपूर्ति तथा उपचार खर्च उपलब्ध गराउँदै आएको छ । विनियमावलीअनुसार दुई लाख रुपैयाँसम्मको क्षतिपूर्ति विभागीय प्रमुख, दुईदेखि पाँच लाख रुपैयाँसम्म सम्बन्धित उपकार्यकारी निर्देशक, पाँचदेखि १० लाख रुपैयाँसम्म मुख्य प्रशासकीय अधिकृत र १० लाख रुपैयाँभन्दा बढीको रकम सञ्चालक समितिबाट स्वीकृत हुने व्यवस्था छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले कानुनी व्यवस्था र विगतका नजिरका आधारमा पीडित बालकको परिवारलाई सहयोग गरिएको बताए । उनले मानिसको जीवनभन्दा कुनै पनि रकम ठूलो नहुने उल्लेख गर्दै उक्त सहयोगले पीडित परिवारको जीवनयापनमा केही राहत पुग्ने अपेक्षा व्यक्त गरे ।

मन्त्री श्रेष्ठले बीमा, उपचार र क्षतिपूर्तिको व्यवस्था एकातिर भए पनि पछिल्ला दिनमा विद्युतीय दुर्घटना बढ्दै गएकाले त्यसको न्यूनीकरणमा प्राधिकरण र नागरिक समाज दुवै सचेत हुनुपर्ने बताए । उनले प्राधिकरणलाई विद्युत् संरचनाको नियमित मर्मत, जोखिमयुक्त क्षेत्रमा निगरानी, सुरक्षा सतर्कता र जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिँदै विद्युतीय दुर्घटना न्यूनीकरणका लागि नागरिकको सचेतना पनि उत्तिकै आवश्यक रहेको बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्