नेपालभरिका १६४ वटा सिनेमा हल सोमबारबाट खुला हुने भएका छन् । नेपाल चलचित्र संघको बैठकले सिनेमा हल खुला गर्ने निर्णय गरेको हो । नेपालको सबैभन्दा ठूलो सिनेमा चेन क्युएफएक्सकी महाप्रबन्धक तृप्ति गिरीले सोमबारबाट हल खुल्ने पुष्टि गर्दै हाललाई राति अबेरको शोहरू भने शुरु नगर्ने बताएकी छन् ।
दर्शकहरूको सुरक्षालाई ध्यानमा राखेर हाललाई ६ बजेको शो नै अन्तिम शो बनाउने र अबेर रातिको शोका लागि केही दिनको अवस्था विचार गरेर मात्र खुलाउने बताइन् । ‘अहिलेको अवस्थामा दर्शकको सेफ्टी सबैभन्दा ठूलो कुरा हो,’ उनले भनिन्, ‘अबेर रातिको शो राख्ने छैनौं । ६ बजेको शो नै अन्तिम शो हुनेछ ।’
क्युएफएक्स नेपालको सबैभन्दा ठूलो सिनेमा प्रदर्शन चेन हो । नेपालभरिका १० वटा शहरमा १४ सिनेमा हल र ती सिनेमा हलभित्र पनि ३० वटा पर्दा छन् । गिरीले विराटनगरबाहेक अन्यत्रका स्क्रिनहरू खुला हुने बताइन् । उनले भनिन्, ‘विराटनगरको भाटभटेनी सुपरस्टोरमा आगजनी हुँदा सिनेमा हललाई पूर्ण रुपमा क्षति गरेको हुँदा विराटनगरमा भने प्रदर्शन गर्न कठिन छ ।’
जेनजी आन्दोलनको क्रममा आक्रमणमा परेको विराटनगर र बिर्तामोडका सिनेमा हल पूर्णतः क्षतिग्रस्त रहेको, काठमाडौंको छाया सेन्टरमा आक्रमण गरिएको भए पनि सिनेमा हललाई कुनै क्षति नपुगेको गिरीले बताइन् । सिनेमा हल खुलाउनुअघि स्थानीय सुरक्षा निकायसँग समन्वय गरिने पनि उनले जानकारी दिइन् ।
‘हामीले सकेसम्म स्थानीय सुरक्षा अधिकारीहरूसँगको छलफलपछि शो खुला गर्ने कुरा भइरहेको छ । धेरै ठाउँमा जीवन सामान्य अवस्थामा पुगिसकेको हुनाले ती ठाउँमा हल खुल्छ ।’ क्युएफएक्सको बुटवल र भक्तपुरमा पनि क्षति पुगेको भए पनि सरसफाईपछि खुल्ने भएको उनले बताइन् ।
सिनेमा हल खुलेपछि पुरानै फिल्महरूको प्रदर्शन जारी राखिने गिरीले बताइन् । उनले भनिन्, ‘अहिले त नयाँ फिल्म पनि छैनन् र पुराना फिल्महरूलाई नै हामीले प्रदर्शन गर्ने हो ।’ सिनेमा हल खुल्ने भएपछि फिल्म निर्माता तथा निर्देशकहरू प्रचारको दौडमा लागिपरेका छन् ।
फिल्म प्रदर्शन र प्रचारको दौडमा रहेका ‘कोशेढुंगा’का निर्देशक सरोज पौडेल नेपालगञ्जदेखि धरानसम्मको यात्रामा थिए । दर्शकको राम्रै प्रतिक्रिया पाइरहेका बेला अचानकको आन्दोलनले फिल्मको व्यापार बिग्रिएको स्वीकार गरे । उनले भने, ‘पहिलो हप्ताको व्यापार सामान्य थियो तर दोस्रो हप्तादेखि दर्शकको प्रतिक्रिया राम्रो आइरहेको बेला आन्दोलन भयो ।’

आन्दोलनका क्रममा आफू राजधानीबाहिर भएको अवस्था सामान्य हुनासाथ काठमाडौं आइपुगेको निर्देशक पौडेलले बताए । देशका संरचना आन्दोलनका क्रममा ध्वस्त भएकाले त्यसको क्षतिका तुलनामा आफ्नो क्षति न्यून भए पनि चार पाँच दिन मात्रै फिल्मको प्रदर्शन रोकिँदा पनि दर्शकको मूड बिग्रने भएकाले अबको शो कस्तो हुने हो भन्ने चिन्ता बढेको उनले बताए ।
‘परिवर्तनको मागका कारण भएको आन्दोलन हाम्रै भविष्यका लागि भएको हो,’ उनले भने, ‘त्यसैले यो घाटा ठीकै छ, साह्रै दुःखी चाहिँ भएको छैन ।’ अझै पनि फिल्मको व्यापारमा आफ्नो आशा रहेको उनले सुनाए । उनले भने, ‘अब एकैचोटि फूलपातीका दिन पाँच वटा फिल्म प्रदर्शन हुँदैछन्, त्यतिञ्जेलसम्म यो फिल्मले राम्रै व्यापार गर्ने आशामा छु।’ अहिले बजारमा ‘बागी ४’, ‘कन्ज्युरिङ’ लगायतका फिल्मसँगै खिलबहादुर गुरुङद्वारा निर्देशित ‘रिमै’ पनि प्रदर्शनरत छ ।
‘दर्शक आउँछन्, आउँदैनन् आफ्नो ठाउँमा छ तर हल चाहिँ खुलेका छन्, यो खुशीको कुरा हो,’ चलचित्र लेखक सामीप्य तिमल्सेनाले भने, ‘जसरी अन्य व्यवसाय खुल्नु जरुरी छ, सिनेमा हल पनि एउटा व्यवसाय भएकाले खुल्नु जरुरी छ । दर्शकलाई पनि यो व्यवसाय खुला छ भन्ने थाहा हुनुपर्यो ।’
फिल्म निर्माताले ठूलो लगानी गरेको हुनाले अब दर्शक आउने बेलामा मात्र फिल्म प्रदर्शन गर्न सक्तैनन्, त्यसैले दर्शक आए पनि नआए पनि फिल्म प्रदर्शन गर्नु बाध्यता रहेको उनले बताए । हल खुलेपछि मात्र जनताको मूड के छ, त्यो थाहा हुने उनले बताए । माहोल तताउन भए पनि हल खुल्नु जरुरी भएको उनको भनाइ छ ।
उनीद्वारा लिखित तथा ऋषि लामिछानेद्वारा निर्देशित ‘माग्ने राजा’ चौथो हप्तामा चलिरहेको थियो । आन्दोलनका बेला पनि राम्रै दर्शक पाइरहेकाले आन्दोलनका कारण करिब दुई करोड रुपैयाँ घाटा लागेको आकलन गरिएको छ । हालसम्म ‘माग्ने राजा’ले पाँच करोड हाराहारी व्यापार गरेको अनुमान छ ।