नेभिगेशन
अर्थतन्त्र

६ उत्कृष्ट कन्टेन्ट आइडियालाई इनड्राइभको आर्थिक सहयोग

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली कन्टेन्ट क्रिएटरहरूको सिर्जनशीलता प्रवद्र्धन गर्ने उद्देश्यले ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । इनड्राइभले ‘क्रिएटर्स भेटघाट’ कार्यक्रम आयोजना गरी आर्थिक सहयोगको घोषणा गरेको हो । इनड्राइभले ६० भन्दा बढी कन्टेन्ट क्रिएटर सहभागी कार्यक्रममा ‘ड्रिम इट. डु इट.’ नामक नयाँ क्रिएटर फेलोशिप कार्यक्रम सार्वजनिक गरेको हो ।

यस कार्यक्रममार्फत लामो समयदेखि निर्माण गर्न चाहेका सिर्जनात्मक परियोजनालाई वास्तविकतामा रूपान्तरण गर्न क्रिएटरहरूलाई आवश्यक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ । कार्यक्रमको सुरुवात सहभागीहरूले आफूले निर्माण गर्न चाहेको ‘ड्रिम कन्टेन्ट’ अवधारणा प्रस्तुत गरेर गरेका थिए । तीमध्येबाट मौलिकता, सिर्जनशीलता र कार्यान्वयनको सम्भावनाका आधारमा ६ उत्कृष्ट आइडिया छनोट गरी आर्थिक सहयोग प्रदान गर्ने तय भएको हो ।

यस अवसरमा ब्रान्ड तथा व्यावसायिक संस्थासँग सहकार्य गर्दा ध्यान दिनुपर्ने विषयमा जानकारीमूलक सत्र पनि सञ्चालन गरिएको थियो । सत्रमा सम्झौताका सर्त बुझ्ने तरिका, उचित पारिश्रमिक निर्धारण, बौद्धिक सम्पत्तिको अधिकार तथा सहकार्यका क्रममा हुन सक्ने जोखिम व्यवस्थापनबारे सहभागीलाई जानकारी दिइयो । सहभागीहरूलाई १० समूहमा विभाजन गरी पोटरी, चित्रकला र हस्तकलासम्बन्धी सिर्जनात्मक गतिविधिमा पनि सहभागी गराइएको थियो। प्रत्येक समूहले तयार पारेका अवधारणालाई कन्टेन्टका रूपमा प्रस्तुत गरेको थियो । इनड्राइभका अनुसार छनोट भएका अवधारणामा नेपालका विभिन्न समुदायका मौलिक परिकारको खोजदेखि पोखराको साहसिक यात्रासम्मका सिर्जनात्मक योजना समेटिएका छन् । विजेता क्रिएटरहरूले आर्थिक सहयोगसँगै आफ्नो शैलीअनुसार स्वतन्त्र रूपमा कन्टेन्ट निर्माण गर्ने अवसर पनि पाउनेछन् । कम्पनीले यस पहलमार्फत आफूलाई राइड–हेलिङ सेवामा मात्र सीमित नराखी नेपाली युवाको सिर्जनशीलता, क्षमता विकास र व्यावसायिक यात्राको साझेदारका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ । छनोट भएका क्रिएटरहरूको नाम इनड्राइभ नेपालको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ भने उनीहरूले तयार पारेका कन्टेन्ट आगामी महिनाहरूमा क्रमशः सार्वजनिक गरिनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्