नेभिगेशन
अर्थतन्त्र

बत्ती गइरहने समस्याको मारमा मोरङ र सुनसरीका उपभोक्ता

काठमाडौं । पर्याप्त विद्युत् उत्पादन हुने बर्खाको समयमा समेत मोरङ र सुनसरीका उपभोक्ता विद्युत् कटौतीको मार झेल्न बाध्य छन् । नेपाल विद्युत प्राधिकरणको कमजोर प्रसारण तथा वितरण प्रणालीको समस्याका कारण यी जिल्लाका उपभोक्ताले बढी माग हुने गर्मीको समयमा झ्याप्प–झ्याप्प बत्ती जाने समस्याको सामना गरिरहेका छन् । तराईका जिल्लामा बर्खा याममा बढी गर्मी हुने हुँदा पंखा, एसी, कुलर जस्ता विद्युतीय उपकरणको अधिक उपयोग हुने हुँदा विद्युत्को माग बढ्ने गरेको छ । तर, प्राधिकरणको वितरण प्रणालीका संरचनाको कमजोर अवस्थाले उपभोक्ताले मागबमोजिमको विद्युत् खपत गर्न पाउँदैनन् । 
बिना सूचना विद्युत् प्राधिकरणको वितरण प्रणालीबाट लाइन काटिने गरेको इटहरीकी सुशीला दाहाल बताउँछिन् । गर्मीमा पंखा, कुलरजस्ता उपकरण नियमित चल्ने हुँदा एकैछिन बत्ती काटिँदा पनि सास्ती हुने गरेको उनी बताउँछिन् । प्राधिकरणका कर्मचारीले प्रणाली मर्मत गरेर आपूर्ति व्यवस्थापन सुचारु गराउने प्रयास गरेपछि समस्या दोहोरिने गरेको उनको अनुभव छ ।
आम उपभोक्ताको जस्तै विद्युत् आपूर्तिको मुख्य समस्या मोरङ तथा सुनसरीमा सञ्चालित उद्योगहरूले पनि झेलिरहेका छन् । उद्योगीहरूले पटक–पटक विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन माग गर्दै आएको भएपनि अवस्था सहज हुन सकेको छैन । पूर्वी क्षेत्रमा उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेसनका नयाँ संरचना थपिएपनि वितरण प्रणालीको सुधार आवश्यकताअनुसार प्राधिकरणले गर्न सकेको छैन । पूर्वी क्षेत्रमा पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध हुने र झ्याप्प–झ्याप्प बत्ती जाने समस्याका सम्बन्धमा जनगुनासो बढेपछि विद्युत् प्राधिकरणका पदाधिकारी सम्मेलित टोली स्थलगत अनुगमनमा पुगेको छ । 
प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख नवराज ओझा, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक राजन ढकालले विराटनगर प्रादेशिक कार्यालय प्रमुख तथा मोरङ र सुनसरीका वितरण कार्यालयका प्रमुखहरूसँग त्यहाँको विद्युत आपूर्तिको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे छलफल गरेको छ । प्रादेशिक कार्यालयमा कोशी प्रदेशका २४ वटा वितरण केन्द्रका प्रमुखहरू छलफलमा सहभागी भएको प्राधिकरणले जनाएको छ । छलफलका क्रममा पूर्वी क्षेत्रको विद्युत् आपूर्ति सहज र प्रभावकारी बनाउन आवश्यक निर्देशन दिइएको उपकार्यकारी निर्देशक एवं प्रवक्ता ढकालले बताए । उनका अनुसार स्थलगत अवलोकनमा गएको प्राधिकरण टोलीले प्रसारण तथा वितरण प्रणालीको मर्मत सम्भार गरी आपूर्ति सहज बनाउन वितरण केन्द्र प्रमुख तथा दुहबी ग्रिड महाशाखा र दुहबी सबस्टेसन प्रमुखलाई निर्देशनसमेत दिएको छ ।  
प्राधिकरण टोलीले ट्रान्सफर्मर मर्मत कार्यशालाको निरीक्षण गर्नुका साथै दुहबी ग्रिड महाशाखाअन्तर्गतको दुहबी सबस्टेसनको अवलोकन पनि गरेको छ । 
यस्तै, प्राधिकरण पदाधिकारीको टोलीले सुनसरीको बर्जुस्थित निर्माणाधीन १३२ केभी सबस्टेसन ३ महिनाभित्र सम्पन्न गर्न पनि कर्मचारी र निर्माण कम्पनीलाई स्पष्ट कार्यादेश दिएको छ ।
मोरङको केरङस्थित सबस्टेसन पनि एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका बनाएर निर्माण कार्य अघि बढाउन निर्देशन दिएको प्राधिकरणले जनाएको छ । दुवै सबस्टेशन रणनीतिक महŒवपूर्ण रहेकाले आवश्यक समन्वय, सहजीकरण गर्न कर्मचारीलाई निर्देशन दिइएको ढकालले बताए । साथै, पर्याप्त मजदुर परिचालन गर्न ठेकेदार कम्पनीलाई समेत निर्देशन दिइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्