काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड भारतको प्रतिष्ठित इन्डियन चेम्बर अफ कमर्स (आईसीसी), कोलकाता द्वारा प्रदान गरिने ‘राइजिङ स्टार–ग्रोथ’ विधाअन्तर्गतको अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार, नवीन वित्तीय उत्पादनको विकास, व्यवसाय वृद्धिसँगै वित्तीय पहुँच विस्तार तथा उत्तरदायी बैंकिङ अभ्यासमा गरेको उत्कृष्ट योगदानका आधारमा उक्त सम्मान प्राप्त गरेको हो । यो सम्मान जुलाई २४, २०२६ मा भारतको नयाँ दिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवाड्र्स’ कार्यक्रममा प्रदान गरिएको हो। बिमस्टेक क्षेत्रकै प्रतिष्ठित मानिने उक्त कार्यक्रममा भारत, नेपाल, श्रीलंका, बंगलादेश तथा म्यानमारका विभिन्न बैंकहरूको सहभागिता रहेको थियो ।
महालक्ष्मी विकास बैंकले यसअघि पनि गत वर्ष ‘एसेट क्वालिटी’ विधाअन्तर्गत यही अवार्ड प्राप्त गरेको थियो । लगातार दोस्रो वर्ष अन्तर्राष्ट्रिय स्तरको सम्मान प्राप्त गर्न सफल हुनु बैंकको संस्थागत क्षमता, उत्कृष्ट व्यवस्थापन र गुणस्तरीय बैंकिङ सेवाप्रतिको प्रतिबद्धताको प्रमाण भएको बैंकले जनाएको छ । बैंकका अनुसार यस सम्मानले अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा महालक्ष्मी विकास बैंकको विश्वसनीयता र पहिचानलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।
‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारालाई आत्मसात् गर्दै आएको महालक्ष्मी विकास बैंकले ग्राहकलाई अत्याधुनिक, सुरक्षित र सहज बैंकिङ सेवा प्रदान गर्दै आएको छ । सोही अभियानअन्तर्गत बैंकले हालै काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ, जहाँ ग्राहकले आधुनिक डिजिटल बैंकिङ सेवासँगै सहज सेवा अनुभव गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।