नेभिगेशन
अर्थतन्त्र

राजस्व चुहावट नियन्त्रण र संकलन सुधार्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनको बिग्रिएको लय सुधार्न र राजस्व चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले चालु आर्थिक वर्षको राजस्व लक्ष्य, समयसीमा र उद्देश्य स्पष्ट रहेकाले भन्सार तथा राजस्व प्रशासनका अधिकारीले अर्जुनदृष्टिका साथ काम गर्नुपर्ने बताए ।

उनले नयाँ आर्थिक वर्षको राजस्व संकलन लक्ष्यलाई ‘मिसन मोड’मा कार्यान्वयन गर्न पनि निर्देशन दिएका हुन् । मन्त्री वाग्लेले नेपालमा विगत केही वर्षदेखि राजस्व संकलनको गति कमजोर हुँदै गएको र चुहावटबारे गुनासो बढिरहेको उल्लेख गर्दै अब त्यसलाई सहन नसकिने बताए । उनले करदातामाथि अनावश्यक दबाब सिर्जना गरेर होइन, उनीहरूलाई प्रोत्साहित गर्दै करको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले कर संकलनको लक्ष्य वैज्ञानिक र यथार्थपरक बनाउनुपर्ने उल्लेख गर्दै कर प्रशासनमा कार्यरत अधिकारीहरूलाई परम्परागत कार्यशैलीबाट बाहिर निस्केर परिणाममुखी ढंगले काम गर्न आग्रह गरे । राज्य सञ्चालनका लागि कर अपरिहार्य रहेको भन्दै इमानदारीपूर्वक काम गर्ने कर्मचारीलाई प्रोत्साहन र अनियमितता गर्नेलाई कारबाही हुने स्पष्ट पारे । मन्त्री वाग्लेले सरकार राजस्व लक्ष्य हासिल गर्न आवश्यक स्रोत–साधन उपलब्ध गराउन तयार रहेको पनि बताए । साथै, नागरिकमा कर सचेतना अभिवृद्धि गर्न, सरकारले घोषणा गरेको कर छुट योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा करदाता प्रोत्साहन कार्यक्रमलाई थप प्रभावकारी बनाउन निर्देशन दिए ।

राजस्व चुहावट रोक्न प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले भन्सार विभागलाई तीन महिनाभित्र देशका १४ प्रमुख भन्सार नाकामा सवारीसाधन स्क्यानर जडान प्रक्रिया अघि बढाउन निर्देशन दिए । यसअघि जडान भएर बिग्रिएका स्क्यानर मर्मत गरी पुनः सञ्चालनमा ल्याउन पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

भन्सार तथा आन्तरिक राजस्व प्रशासनलाई चुहावट हुने क्षेत्रको सूक्ष्म अनुगमन गर्न, व्यवसायीलाई अनावश्यक त्रसित पार्नेभन्दा कर प्रणालीबारे जानकारी दिई करको दायरामा ल्याउने वातावरण बनाउन पनि उनले आग्रह गरे । बैठकमा अर्थसचिव डा. घनश्याम उपाध्यायले आर्थिक गतिविधि र राजस्व संकलनबीच देखिएको असन्तुलनको कारण पहिचान गरी सुधारका लागि प्रभावकारी कदम चाल्न मातहतका अधिकारीलाई निर्देशन दिए । कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुख तथा सहसचिव उत्तरकुमार खत्रीले राजस्व संकलनको वर्तमान अवस्था र चालु आर्थिक वर्षको लक्ष्यबारे प्रस्तुतीकरण दिएका थिए । भन्सार विभागका महानिर्देशक यमलाल भूसालले भन्सार राजस्वको अवस्था र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए भने आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माले सरकारले घोषणा गरेको कर छुट तथा करदाता प्रोत्साहन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको जानकारी दिएका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्