नेभिगेशन
अर्थतन्त्र

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्ने व्यवस्था

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ । नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रका आधारमा एपमार्फत बैंकको वेवसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी व्यक्तिगत बचत खातामा खोल्न सक्नेछन् । नागरिक एप प्रयोगकर्ताहरूले ग्लोबल आइएमई बैंकमा खाता खोल्नको लागि आवश्यक पर्ने क्यूआर कोड उल्लेखित लिंकमा क्लिक गरी पाउनेछन् ।

नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवाले आम नागरिकलाई बैंक खाता खोल्न थप सहज बनाएको छ । यसअन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र बनाई नागरिक एपमा आबद्ध भएका नागरिकहरूले अनलाइनबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सक्नेछन् । यसका लागि बैंकले नागरिक एपमा आबद्ध व्यक्तिको पूर्वसहमति लिई खाताका लागि आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गर्नेछ । यसबाट व्यक्तिगत विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै ग्राहकको गोपनीयता तथा सूचनाको सुरक्षासमेत सुनिश्चित हुनेछ । नागरिक एपमार्फत खोलिएको खाता सञ्चालनका लागि ग्राहकले आफ्नो नजिक रहेको शाखा कार्यालयमा गई वा भिडियो केवाईसीमार्फत प्रमाणीकरण गर्नुपर्नेछ ।

यस सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैंकले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल तथा भरपर्दो डिजिटल बैंकिङ सेवाको विस्तार गरेको  छ । नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी तथा प्रविधिमैत्री बनाउनुका साथै आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकले लिएको छ । ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकले ३४२ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्