नेभिगेशन
अर्थतन्त्र

इन्डियन च्याम्बर अफ कमर्शका चार अन्तर्राष्ट्रिय अवार्डबाट नेपाल एसबीआई बैंक सम्मानित

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड इन्डियन च्याम्बर अफ कमर्श (आईसीसी)द्वारा प्रदान गरिने चार प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ अवार्डबाट सम्मानित भएको छ । बैंकले व्यावसायिक बैंकिङ, सम्पत्तिको गुणस्तर, नाफामुखी कार्यसम्पादन तथा साना तथा मझौला उद्यम (एसएमई) प्रवर्धनमा उत्कृष्ट प्रदर्शन गरेबापत यी सम्मान प्राप्त गरेको हो ।

भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ समारोहमा बैंकले ‘बेस्ट बैंक इन एसएमई एक्सेलेरेसन’, ‘बेस्ट परफर्मेन्स अन एसेट क्वालिटी’, ‘बेस्ट परफर्मेन्स अन प्रोफिटेबिलिटी’ तथा ‘बेस्ट कमर्सियल बैंक’ विधामा प्रतिष्ठित पुरस्कार प्राप्त गरेको हो । समारोहमा नेपाल एसबीआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र वित्त तथा योजना विभाग प्रमुख नेत्र खतिवडाले बैंकका तर्फबाट उक्त पुरस्कार ग्रहण गरेका थिए । बैंकका अनुसार यी अन्तर्राष्ट्रिय सम्मानले व्यावसायिक बैंकिङ क्षेत्रमा हासिल गरेको उत्कृष्टता, सम्पत्तिको गुणस्तर सुदृढ बनाउने प्रतिबद्धता, नाफामुखी तथा दिगो वित्तीय व्यवस्थापनमा देखिएको सफलता र साना तथा मझौला उद्यमको विकासमा बैंकले निर्वाह गरेको सक्रिय भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ ।

साथै, नवप्रवर्तनमुखी बैंकिङ सेवा, प्रभावकारी जोखिम व्यवस्थापन र ग्राहक केन्द्रित सेवाप्रतिको बैंकको प्रतिबद्धतालाई समेत यी अवार्डले थप पुष्टि गरेको बैंकले जनाएको छ । अवार्ड प्राप्तिपछि बैंकले आफ्ना शेयरधनी, ग्राहक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ । बैंकले जारी गरेको विज्ञप्तिमा ग्राहक र शेयरधनीले देखाएको निरन्तर विश्वास, साथ र सहयोग नै यस सफलताको प्रमुख आधार भएको उल्लेख गरिएको छ । साथै, बैंकको विकास यात्रामा नियामक निकायबाट प्राप्त मार्गदर्शन, सहयोग र विश्वासप्रति पनि बैंकले कृतज्ञता व्यक्त गरेको छ ।

बैंकले यस्ता अन्तर्राष्ट्रिय सम्मानले आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, सुरक्षित तथा प्रविधिमैत्री बनाउँदै राष्ट्रको आर्थिक विकास र वित्तीय समावेशीकरणमा थप योगदान पु¥याउने प्रेरणा प्रदान गरेको जनाएको छ । नेपाल एसबीआई बैंकले विगत ३३ वर्षदेखि नेपालमा आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको देशभर १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् । विस्तारित सेवा सञ्जालमार्फत बैंकले देशभरका ग्राहकलाई आधुनिक, सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्