काठमाडौं । ‘दिल्ली अब दुर नहिं’ भन्ने भनाइ अब केही वर्षभित्रै यथार्थमा परिणत हुने भएको छ । भारत सरकारले नेपाल–भारत कनेक्टिभिटीलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यसहित निर्माण गरिरहेको गोरखपुर–सुनौली अन्तर्राष्ट्रिय द्रुतमार्ग (एक्सप्रेस–वे) अन्तिम चरणमा पुगेपछि दिल्ली अव टाढा नहुने भएको हो ।
भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई) का अनुसार ७९ दशमलव ५४ किलोमिटर लामो गोरखपुर–सुनौली सडकखण्डको भौतिक प्रगति करिब ९० प्रतिशत पुगेको छ । सन् २०२६ को अन्त्यसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो परियोजनामा १४ अर्ब ५८ करोड भारतीय रुपैयाँ अर्थात सवा २३ अर्ब नेपाली रुपैयाँ लाग्ने इष्टिमेट गरिएको छ ।
यो आयोजना सम्पन्न भएपछि नयाँदिल्लीदेखि सुनौलीसम्मको सडक यात्रा अहिले लाग्ने १२ देखि १४ घण्टाको सट्टा करिब ८ घण्टामा सीमित हुने छ । नेपालतर्फ भैरहवा–काठमाडौं सडक विस्तारका आयोजनाहरू पनि सम्पन्न हुने हो भने काठमाडौं–दिल्ली सडक यात्रा करिब १६ घण्टामै सम्भव हुने अनुमान गरिएको छ । अहिले यही दूरी पार गर्न २४ देखि ३० घण्टासम्म लाग्ने गरेको छ ।
दाउन्नेको सडक बनिसकेको र मुग्लिन काठमाडौं सडक पनि चौडा भइसकेको अवस्थामा अव भारतीय पर्यटकको ओइरो लाग्नेमा होटल संघ नेपालका महासचिव साजन शाक्य मख्ख छन् । अहिले भारतीय कन्टेन्ट क्रियटरहरुले नेपालका बारेमा सकारात्मक सन्देश प्रवाह गरिरहेको र भारतीय पर्यटकहरुले पोखरा खचाखच भइरहेको अवस्थामा भारततर्फको एक्सप्रेस वेले गर्दा काठमाडौं पनि भारतीय पर्यटकबाट भरिने अवस्था आउने उनले स्पष्ट पारे । उनका अनुसार अहिले पोखरामा होटल अकुपेन्सी ९० प्रतिशत पुगेको छ । दिल्ली सुनौली सडक सम्पन्न भएपछि अझ भारतीय धार्मिक पर्यटकको संख्या बढ्ने भएकाले उनीहरुको लागि पनि छुट्टै व्यवस्था गरी खाना पकाउने तथा बसोबासको व्यवस्था हुनुपर्ने महासचिव शाक्यको भनाइ छ ।
नेपाल र भारतबीच खुला सीमा, गहिरो सांस्कृतिक सम्वन्ध, धार्मिक सम्पर्क र ठूलो व्यापारिक निर्भरता छ । यस्ता दुई देशबीच आधुनिक सडक पूर्वाधारले केवल यात्रा छोट्याउने मात्र होइन, आर्थिक सम्बन्धलाई पनि नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ ।
सुनौली नाका नेपाल–भारतबीचको सबैभन्दा व्यस्त सीमा नाकामध्ये एक हो । यही नाकाबाट दैनिक हजारौं पर्यटक, तीर्थयात्री, व्यापारी तथा मालवाहक ट्रक नेपाल प्रवेश गर्छन् । नेपालको भैरहवा भन्सार हुँदै ठूलो परिमाणमा आयातित सामान भित्रिने भएकाले यो नाका नेपालको अर्थतन्त्रका लागि पनि अत्यन्त महत्वपूर्ण मानिन्छ ।
अहिले गोरखपुरदेखि सुनौलीसम्मको यात्रा साँघुरो दुई लेन सडक, अत्यधिक ट्राफिक र लामो जामका कारण झन्झटपूर्ण हुने गरेको छ । नयाँ द्रुतमार्ग सञ्चालनमा आएपछि ती समस्या धेरै हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ ।
एनएचएआईका अनुसार अहिले निर्माण भइरहेको चार लेन सडकलाई भविष्यमा ट्राफिक चाप बढेमा ६ लेनसम्म विस्तार गर्न सकिने गरी डिजाइन गरिएको छ ।
द्रुतमार्गमा अत्याधुनिक पूर्वाधार समावेश गरिएको बताइएको छ । यसमा रेल्वे ओभरब्रिज, फ्लाइओभर, २४ वटा अन्डरपास, १०५ वटा कल्भर्ट, साना पुल, करिब ६८ किलोमिटर सर्भिस रोड समावेश छन् । यसैंगरी अत्याधुनिक ट्राफिक व्यवस्थापन प्रणाली, सीसीटीभी निगरानी, इमर्जेन्सी कल बक्स, विद्युतीय सूचना बोर्ड, रियल टाइम ट्राफिक मोनिटरिङ, सडक सुरक्षा ब्यारियर, जङ्सन लाइटिङ, एम्बुलेन्स सेवा जस्ता सुविधा रहने बताइएको छ ।
तीन घण्टाको यात्रा आधाभन्दा कम
एनएचएआईका डेपुटी महाप्रबन्धक ललित प्रताप पालका अनुसार अहिले गोरखपुरदेखि सुनौली पुग्न ट्राफिकका कारण करिब तीन घण्टा लाग्ने गरेको छ ।
उनका अनुसार अन्तर्राष्ट्रिय सीमा भएकाले मालवाहक ट्रकको अत्यधिक चाप रहन्छ । दुई लेन सडकका कारण लामो जाम हुने समस्या अहिले सामान्यजस्तै बनेको छ ।
नयाँ द्रुतमार्ग सञ्चालनमा आएपछि ती जाम हट्ने मात्र होइन, यात्रा समय उल्लेखनीय रूपमा घट्ने विश्वास गरिएको छ ।
यो द्रुतमार्गबाट सबैभन्दा बढी लाभ भारतको दिल्ली–एनसीआर, नोइडा, गाजियाबाद, लखनउ, गोरखपुर तथा बिहार क्षेत्रका यात्रुलाई पुग्नेछ । हाल दिल्लीबाट नेपाल आउन चाहने अधिकांश यात्रुले लामो ट्राफिक, साँघुरो सडक र सीमामा हुने भीडका कारण निकै कठिन यात्रा गर्नुपर्छ । नयाँ करिडोर सञ्चालन भएपछि उनीहरूले छोटो, सुरक्षित र सहज विकल्प पाउनेछन् । यसले निजी सवारी, पर्यटक बस, ट्राभल कम्पनी, मालवाहक व्यवसाय तथा धार्मिक पर्यटक सबैलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।
लुम्बिनी–कुशीनगर–वाराणसी धार्मिक सर्किट
भारत सरकारले यो परियोजनालाई केवल सडक विस्तारका रूपमा मात्रै नहेरेर बौद्ध धार्मिक सर्किट सुदृढ बनाउने योजनासँग पनि जोडेको छ ।
गोरखपुर हुँदै कुशीनगर र लुम्बिनीलाई सहज सडकमार्फत जोड्दा विश्वभरका बौद्ध तीर्थयात्रीलाई यात्रा गर्न ठूलो सहजता हुनेछ ।
यसबाट लुम्बिनी, कुशीनगर, वाराणसी, सारनाथबीचको धार्मिक पर्यटन उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ ।
नेपालको लुम्बिनी आउने विदेशी पर्यटकले पनि भारतका अन्य धार्मिक गन्तव्य सजिलै भ्रमण गर्न सक्नेछन् ।
व्यापार र ढुवानीमा ठूलो परिवर्तन
सुनौली–भैरहवा नाका नेपालको प्रमुख आयात नाकामध्ये एक हो । भारतबाट नेपाल आउने अधिकांश उपभोग्य वस्तु, औद्योगिक कच्चा पदार्थ, निर्माण सामग्री तथा अन्य मालसामान यही मार्ग हुँदै भित्रिन्छन् । हाल सडक साँघुरो भएकाले ट्रकहरू लामो समयसम्म जाममा बस्नुपर्ने अवस्था छ ।
नयाँ द्रुतमार्गले ढुवानी लागत घटाउने,समय बचत गर्ने,इन्धन खर्च कम गर्ने,व्यापारिक प्रतिस्पर्धा बढाउने,आपूर्ति प्रणालीलाई थप भरपर्दो बनाउने अपेक्षा गरिएको छ । यसबाट नेपालका उद्योग तथा व्यवसायीले पनि प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ ।
नेपालले पनि गति मिलाउनुपर्ने
भारतीय पक्षले आफ्नो पूर्वाधार तीव्र गतिमा अघि बढाइरहँदा नेपालतर्फका केही सडक आयोजना अझै निर्माणाधीन अवस्थामा छन् ।
विशेषगरी बुटवल–नारायणगढ सडक, दाउन्ने खण्ड,काठमाडौं–भैरहवा सडक, सिद्धार्थ राजमार्ग विस्तार समयमै सम्पन्न भए भारतको द्रुतमार्गको पूर्ण लाभ नेपालले लिन सक्नेछ ।
भारतीय नागरिकहरू विशेषगरी काठमाडौं,पोखरा,लुम्बिनी,मुक्तिनाथ,जनकपुर भ्रमण गर्न आउने गरेका छन् ।
यात्रा सहज हुँदा धार्मिक पर्यटनसँगै साहसिक, सांस्कृतिक तथा पारिवारिक पर्यटनमा समेत वृद्धि हुने विश्वास होटल संघ नेपालका महासचिव साजन शाक्यले गरे ।
यसबाट होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला, स्थानीय उत्पादन तथा सेवा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा उनको रहेको छ ।
क्षेत्रीय अर्थतन्त्रमा नयाँ सम्भावना
गोरखपुर–सुनौली द्रुतमार्गले केवल नेपाल र भारतलाई मात्र जोड्ने होइन, दक्षिण एसियाली क्षेत्रीय कनेक्टिभिटीमा समेत नयाँ सम्भावना खोल्ने विश्लेषण गरिएको छ ।
नेपालको लुम्बिनीलाई भारतको राष्ट्रिय राजमार्ग सञ्जालसँग अझ प्रभावकारी रूपमा जोड्दा सीमा क्षेत्रमा लगानी, उद्योग, गोदाम, लजिस्टिक्स पार्क तथा व्यापारिक केन्द्र विस्तार हुने सम्भावना पनि बढ्ने देखिएको छ ।