नेभिगेशन
मनोरञ्जन

‘गौंथली’को व्यापार आश्चर्यजनक

डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौंथली’’ले घरेलु बक्स अफिसमा लोभलाग्दो व्यापार गरेको छ । साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्मले ११ दिनमा साढे ७ करोडको व्यापार गरेको छ । 
सोमबार चलचित्र विकास बोर्डको तथ्यांकमा भने १० दिनको व्यापार आँकडा रिलिज गरेको छ । यस अवधिमा फिल्मको २ लाख ६० हजार २५२ वटा टिकट बिक्री भएको छ । यससँगै ‘गौंथली’ यस वर्षको सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्म बनेको छ । पहिलो स्थानमा ‘लालीबजार’ थियो । उसले जसले ९ करोड ३२ लाख रुपैयाँ ग्रस व्यापार गरेको थियो । लालीबजारको रेकर्डलाई ‘गौंथली’ले तोड्ने देखिएको छ ।
यस फिल्मले प्रदर्शनयताकै सबैभन्दा उच्च व्यापार गत शनिबार गरेको थियो । त्यसदिन फिल्मको कमाइ १ करोड ६५ लाखमाथि थियो । यो यस वर्ष नेपाली फिल्मले गरेको सर्वाधिक एकदिने कमाइ हो । आइतबार पनि फिल्मले लगभग डेढ करोडको व्यापार गरेको निर्माण समूहले जनाएको छ । 
चलचित्र विकास बोर्डले जारी गरेको आकडाअनुसार सिनेमा हलमा लागेका अन्य दुई फिल्म ‘रोल नं १’ र ‘भागदौड’को पनि कमाइ सार्वजनिक गरेको छ । जसमा ‘रोल नं १’ले १० साउनसम्म ७१ हजार ४७३ वटा टिकट बिक्री गर्दै १ करोड ७८ लाख ५१ हजार ६९८ रुपैयाँ ग्रस कमाइ गरेको देखिन्छ । रोल नं १ले निर्माण अवधिमा नै निकै राम्रो चर्चा बटुलेको भए पनि यसले सोचेजस्तो व्यापार गर्न अझै सकेको छैन । त्यस्तै अर्को फिल्म ‘भागदौड’ले भने व्यापारमा निराश बनाएको छ । यसले जम्माजम्मी १ लाख १९५ रुपैयाँ कमाइ गरेको छ । यसको टिकट जम्मा ४४२ वटा मात्र बिकेको थियो । यस हिसाबले यो फिल्म यस वर्षको सबैभन्दा कम कमाउने फिल्म बन्न पुगेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्