काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षभर शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय विकासका क्षेत्रमा सञ्चालन गरेका संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रमबाट लाखौं नागरिक लाभान्वित भएका छन् । बैंकले सिएसआरलाई परोपकारी सहयोगमा मात्र सीमित नराखी दिगो विकास, समावेशी वृद्धि र समुदायसँगको दीर्घकालीन सहकार्यको माध्यमका रूपमा अघि बढाएको हो ।
७ वटै प्रदेशमा रहेका १४८ शाखामार्फत सञ्चालन गरिएको वित्तीय साक्षरता अभियानबाट करिब १० हजार विद्यार्थी, महिला, किसान, मजदुर तथा वैदेशिक रोजगारीमा जाने सम्भावित व्यक्तिलाई बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङ, साइबर सुरक्षा र वित्तीय व्यवस्थापनसम्बन्धी जानकारी प्रदान गरिएको बैंकले जनाएको छ । स्वास्थ्य क्षेत्रमा बाराको विश्रामपुर गाउँपालिकामा आयोजित निःशुल्क आँखा शिविरमार्फत करिब ८०० जनाको आँखा परीक्षण गरिएको थियो भने मोतिबिन्दु पहिचान भएका करिब १५० जनाको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको थियो । म्याग्दीको भगवती स्वास्थ्य चौकीलाई अस्पताल बेड, बेबी वार्मर, औषधि ट्रली तथा स्वच्छ खानेपानीका लागि आवश्यक एचडीपीई पाइप हस्तान्तरण गरिएको बैंकले जनाएको छ । उक्त स्वास्थ्य चौकीबाट ४,३०० भन्दा बढी स्थानीयले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्दै आएका छन् ।
वातावरण संरक्षणअन्तर्गत ‘एक खाता, एक रुख’ अभियानमार्फत विश्व वातावरण दिवस २०२५ को अवसरमा काठमाडौंसहित देशका विभिन्न प्रदेशमा कुल १,५०० बिरुवा रोपिएको छ। शिक्षा क्षेत्रमा हुम्लाको अदानचुली गाउँपालिका–३ स्थित श्री छत्रपाल आधारभूत विद्यालयका २०५ विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको छ भने दृष्टिविहीन विद्यार्थीलाई ब्रेल पेपर, ब्रेल स्टाइलस, ब्रेल स्लेट, विद्यालय झोला तथा सफ्टवेयरसहितका शैक्षिक सामग्री उपलब्ध गराइएको बैंकले जनाएको छ । बैंकका अनुसार हालसम्म सञ्चालन गरिएका १०० भन्दा बढी सिएसआर कार्यक्रममार्फत सातै प्रदेशका लाखौं नागरिक प्रत्यक्ष तथा परोक्ष रूपमा लाभान्वित भएका छन् । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा निरन्तरता दिँदै समाज, वातावरण र राष्ट्रको दिगो विकासमा योगदान पु¥याउने प्रतिबद्धता बैंकले जनाएको छ ।