काठमाडौं । स्वर्गीय दिवाकर गोल्छाको ७२औँ जन्मजयन्ती तथा संस्थापक दिवसका अवसरमा दिवाकर गोल्छा अर्गनाइजेसनले देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ । अर्गनाइजेसनले संस्थापक दिवसलाई विशेष महत्वका साथ मनाउँदै काठमाडौंस्थित कर्पोरेट कार्यालय, उद्योगका कारखाना परिसर तथा विभिन्न शाखा कार्यालयमा विविध कार्यक्रम आयोजना गरेको हो ।
औद्योगिकीकरण र उद्यमशीलताको विकासमा उल्लेखनीय योगदान पु¥याएका तथा सुप्रसिद्ध प्रबल गोरखा दक्षिणबाहुबाट सम्मानित स्वर्गीय दिवाकर गोल्छाको दूरदृष्टि, मार्गदर्शन र स्वदेशमै रोजगारी सिर्जना गर्ने सोचलाई निरन्तर आत्मसात गर्दै संस्थापक दिवस मनाउने परम्परा कायम राखिएको अर्गनाइजेसनले जनाएको छ । संस्थापक दिवसका अवसरमा विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीय बासिन्दालाई स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ भने वातावरण संरक्षणको सन्देशसहित वृक्षारोपण कार्यक्रम पनि सञ्चालन गरिएको छ । यसैगरी, स्थानीय विद्यालय तथा वृद्धाश्रममा भोजन वितरण गरिएको छ भने कीर्तिपुर अस्पताललाई डायलाइसिस उपकरण हस्तान्तरण गरिएको अर्गनाइजेसनले जनाएको छ ।
यस्ता कार्यक्रममार्फत सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउने प्रयास गरिएको संस्थाको भनाइ छ । अर्गनाइजेसनका अनुसार स्वर्गीय दिवाकर गोल्छाले अघि सारेको देशलाई औद्योगिकीकरण र रोजगारीतर्फ उन्मुख बनाउने लक्ष्यलाई निरन्तरता दिँदै देशका विभिन्न स्थानमा जस्तापाता तथा पाइप, जुट, चिनी, खाद्यान्न, आल्मुनियम, स्टिलका भाँडाकुँडा, जीआई, कपर वायर तथा इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्ने उद्योग स्थापना गरिएको छ।
ती उद्योगमार्फत हाल करिब २० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको जनाइएको छ । नेपालमा गुणस्तरीय जस्तापाता स्वदेशमै उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले ४५ वर्षको यात्रामा देशको औद्योगिक विकास, आर्थिक गतिविधि विस्तार तथा रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पु¥याएको अर्गनाइजेसनले जनाएको छ । दिवाकर गोल्छा फाउन्डेसनमार्फत विभिन्न संघसंस्थालाई आर्थिक सहयोग उपलब्ध गराउनुका साथै शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि अर्गनाइजेसनले जनाएको छ । संस्थापक दिवसका अवसरमा आयोजना गरिएका कार्यक्रमले स्वर्गीय दिवाकर गोल्छाको योगदानको सम्मान गर्नुका साथै उद्योग, सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।