नेभिगेशन
अर्थतन्त्र

जापानी बजारमा गोल्डस्टारको व्यापार विस्तार गर्न रणनीतिक साझेदारी

काठमाडौं । नेपाली फुटवेयर उत्पादक गोल्डस्टार स्ट्राइड लिमिटेड र गोल्डस्टार जापान कम्पनी लिमिटेडबीच जापानी बजारमा गोल्डस्टार ब्रान्डको विस्तार तथा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि रणनीतिक साझेदारी भएको छ । सम्झौतामा गोल्डस्टार स्ट्राइड लिमिटेडका अध्यक्ष अमिर प्रताप जंगबहादुर राणा र गोल्डस्टार जापान कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कावाशिमा मिजुकीले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा गोल्डस्टार जापानका निर्देशक कोबायाशी काजुयुकीसहित दुवै कम्पनीका उच्च पदाधिकारीको उपस्थिति थियो । सम्झौताअघि जापानी कम्पनीका प्रतिनिधिले तीन पटक नेपाल भ्रमण गरी गोल्डस्टारका तीनवटै उत्पादन केन्द्रको अवलोकन गर्दै उत्पादन प्रक्रिया, मेसिनरी, गुणस्तर नियन्त्रण प्रणाली र दक्ष जनशक्तिको मूल्यांकन गरेका थिए । त्यसपछि मात्र जापानी बजारको मापदण्डअनुरूप दीर्घकालीन सहकार्यमा सहमति भएको कम्पनीले जनाएको छ ।
सम्झौताअनुसार जापानी बजारको आवश्यकताअनुरूप उच्च गुणस्तरका फुटवेयर उत्पादन, आधिकारिक वितरण प्रणाली, ब्रान्ड विकास, बजार विस्तार तथा ग्राहक सेवामा दुवै कम्पनीले सहकार्य गर्नेछन् । यसले गोल्डस्टारलाई जापानी बजारमा विश्वसनीय अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । अध्यक्ष राणाले यो सहकार्यले ‘मेड इन नेपाल’ उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा थप सशक्त रूपमा स्थापित गर्दै नेपाली उत्पादनको विश्वसनीयता र प्रतिस्पर्धात्मकता बढाउने बताए । प्रमुख कार्यकारी अधिकृत मिजुकीले जापानी उपभोक्ताको गुणस्तरप्रतिको अपेक्षा पूरा गर्नुका साथै नेपाल–जापानबीचको व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
गोल्डस्टारले पाँच दशकभन्दा बढी समयदेखि उत्पादन क्षेत्रमा सक्रिय हजारौँ नेपालीलाई रोजगारी दिँदै आएको छ । कम्पनीका अनुसार यो साझेदारीले नेपालको निर्यात प्रवद्र्धन, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना तथा नेपाल–जापानबीचको आर्थिक सहकार्य विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्