काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रालिबीच ग्राहकलाई थप आधुनिक तथा डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता भएको छ । यो सहकार्यसँगै कम्पनीले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय ई–सिम तथा अन्तर्राष्ट्रिय सवारी चालक अनुमति (आईडीपी) सम्बन्धी सेवा कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको छ । अब कुमारी बैंकका ग्राहकले अब मोबाइल बैंकिङ एपमार्फत नै सहज रूपमा अन्तर्राष्ट्रिय ई–सिम डेटा प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय सवारी चालक अनुमतिका लागि आवेदन दिन सक्नेछन् ।
विदेश यात्रा गर्ने नेपाली, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा व्यवसायिक प्रयोजनका लागि नियमित रूपमा विदेश आवतजावत गर्ने ग्राहकका लागि यो सेवा विशेष रूपमा उपयोगी हुने बैंकले जनाएको छ । बैंकका अनुसार डिजिटल युगमा अन्तर्राष्ट्रिय यात्राका क्रममा भरपर्दो इन्टरनेट पहुँच र आवश्यक यात्रा कागजातको सहज व्यवस्था अत्यन्त महत्त्वपूर्ण हुन्छ । ई–सिम सेवामार्फत ग्राहकले विदेश पुगेपछि स्थानीय सिम कार्ड खरिद गर्न, सिम परिवर्तन गर्न वा नयाँ नेटवर्क खोज्नुपर्ने झन्झटबाट मुक्त हुँदै सहज रूपमा डेटा सेवा प्रयोग गर्न सक्नेछन् ।
त्यसैगरी, अन्तर्राष्ट्रिय सवारी चालक अनुमति (आईडीपी) सेवाले अन्तर्राष्ट्रिय सवारी चालक अनुमति प्राप्त गर्ने प्रक्रियालाई थप सरल, छिटो र व्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ। डिजिटल माध्यमबाट आवेदन दिन सकिने व्यवस्थाले सेवाग्राहीको समय र झन्झट दुवै कम हुने अपेक्षा गरिएको छ । यस सेवाको अर्को विशेषता भनेको ई–सिम तथा अन्तर्राष्ट्रिय सवारी चालक अनुमति (आईडीपी) सेवाको शुल्क कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत नेपाली रुपैयाँमै भुक्तानी गर्न सकिने सुविधा हो । यसले अन्तर्राष्ट्रिय सेवा उपयोगका लागि विदेशी मुद्रामा भुक्तानी गर्ने वैकल्पिक माध्यम खोज्नुपर्ने आवश्यकता घटाउनुका साथै सम्पूर्ण प्रक्रियालाई अझ सहज, सुरक्षित र ग्राहकमैत्री बनाउने बैंकको विश्वास छ । यसबाट ग्राहकको समय, लागत र श्रमको बचत हुनुका साथै अन्तर्राष्ट्रियस्तरका सेवा स्वदेशमै बसेर प्राप्त गर्न सकिने अपेक्षा गरिएको छ ।
विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर २८५ शाखा, ४१ वटा विस्तार काउन्टर, ३०३ एटीएम तथा ४० शाखारहित बैंकिङ सेवा केन्द्रमार्फत लाखौँ ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकले प्रविधिमा आधारित आधुनिक सेवा विस्तारलाई प्राथमिकतामा राख्दै ग्राहकको बदलिँदो आवश्यकता अनुरूप डिजिटल रूपान्तरणलाई निरन्तर अघि बढाइरहेको जनाएको छ । बैंकले यो सहकार्यले ग्रामीण, अर्धशहरी र शहरी क्षेत्रका ग्राहकलाई समान रूपमा अन्तर्राष्ट्रियस्तरका डिजिटल सेवामा पहुँच विस्तार गर्न सहयोग पुग्ने तथा डिजिटल समावेशीकरणलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।