काठमाडौं । नेपालको निर्जीवन बीमा उद्योगले आर्थिक वर्ष २०८२-८३ मा उल्लेखनीय विस्तार गर्दै कुल ५१ अर्ब ९२ करोड रुपैयाँ बराबरको बीमा शुल्क (प्रिमियम) संकलन गरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी तथा चार वटा लघु (माइक्रो) निर्जीवन बीमकले संयुक्त रूपमा ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५ दशमलव ६१ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा यिनै कम्पनीहरूले ४४ अर्ब ९१ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए । एक वर्षमै करिब ७ अर्ब रुपैयाँभन्दा बढी अतिरिक्त प्रिमियम संकलन हुनु निर्जीवन बीमा क्षेत्रमा बजार विस्तार, बीमा पहुँच वृद्धि तथा व्यावसायिक प्रतिस्पर्धा तीव्र बन्दै गएको संकेतका रूपमा हेरिएको छ ।
पछिल्ला वर्षहरूमा मोटर बीमा, सम्पत्ति बीमा, इन्जिनियरिङ बीमा, कृषि तथा बाली बीमा, स्वास्थ्यसँग सम्बन्धित गैरजीवन बीमा उत्पादन र संस्थागत जोखिम व्यवस्थापनप्रतिको चेतना बढ्दै जाँदा निर्जीवन बीमाको बजार विस्तार भएको हो । यद्यपि अझै पनि नेपालको कुल बीमा पहुँच दक्षिण एसियाका विकसित बजारको तुलनामा कम रहेकाले आगामी वर्षहरूमा वृद्धि हुने पर्याप्त सम्भावना रहेको उनीहरूको विश्लेषण छ ।
शिखर इन्स्योरेन्स फेरि पहिलो
गत आर्थिक वर्षमा पनि शिखर इन्स्योरेन्स सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनीका रूपमा स्थापित भएको छ । कम्पनीले ६ अर्ब ५१ करोड १२ लाख रुपैयाँ बराबर प्रिमियम संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२ दशमलव ३८ प्रतिशत बढी हो । कम्पनीले देशभर फैलिएको शाखा सञ्जाल, कर्पोरेट ग्राहक र विविध बीमा उत्पादनका कारण आफ्नो अग्रता कायम राख्न सफल भएको देखिएको छ ।
शिखरले एक वर्षमा ३ लाख ३६ हजारभन्दा बढी बीमालेख जारी गरेको तथ्यांक पनि रहेको छ ।
सगरमाथा लुम्बिनी दोस्रो स्थानमा
सगरमाथा लुम्बिनी इन्स्योरेन्स ५ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी प्रिमियम संकलन गर्दै दोस्रो स्थानमा रहेको छ । कम्पनीको व्यवसाय अघिल्लो वर्षको तुलनामा ८ दशमलव ४ प्रतिशत बढेको छ । कम्पनीले मर्जरपछिको संरचनात्मक सुधार र बजार विस्तारलाई निरन्तरता दिएको उल्लेख गरेको छ ।
हिमालयन एभरेष्टको उल्लेखनीय छलाङ
गत आर्थिक वर्षमा सबैभन्दा प्रभावशाली वृद्धि भने हिमालयन एभरेष्ट इन्स्योरेन्सले गरेको छ । कम्पनीले ३१ दशमलव ०६ प्रतिशत को उच्च वृद्धिदर हासिल गर्दै ५ अर्ब ३७ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यससँगै कम्पनी तेस्रो ठूलो निर्जीवन बीमक बनेको छ ।
संस्थागत ग्राहक विस्तार, ठूला औद्योगिक परियोजनाको बीमा तथा बजार रणनीतिमा गरिएको सुधारले कम्पनीलाई उच्च वृद्धिदर हासिल गर्न सहयोग गरेको बताइन्छ ।
आइजिआइ प्रुडेन्सियल र सिद्धार्थ प्रिमियर
आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स ले ४ अर्ब ५५ करोड रुपैयाँ प्रिमियम संकलन गर्दै १७ दशमलव ७३ प्रतिशत वृद्धि हासिल गरेको छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी प्रिमियम संकलन गरे पनि यसको वृद्धिदर ० दशमलव १७ प्रतिशत मात्र रहेको छ ।
एनएलजीको सबैभन्दा उच्च विस्तार
गत वर्ष सबै कम्पनीमध्ये सबैभन्दा धेरै व्यवसाय विस्तार गर्ने कम्पनीमध्ये एनएलजी इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीले ३७ दशमलव ३० प्रतिशत वृद्धिदरसहित ४ अर्ब २० करोड रुपैयाँभन्दा बढी प्रिमियम संकलन गरेको छ । यो वृद्धिदर सम्पूर्ण उद्योगकै सबैभन्दा उच्चमध्ये एक हो ।
त्यसैगरी नेसनल इन्स्योरेन्सले २१ दशमलव ५८ प्रतिशत, ओरियन्टल इन्स्योरेन्सले २० दशमलव २४ प्रतिशत तथा आइजिआइ प्रुडेन्सियल ले १७ दशमलव ७३ प्रतिशत वृद्धि गरेका छन् ।
मध्यम आकारका कम्पनीहरूको प्रतिस्पर्धा
नेको इन्स्योरेन्स, युनाइटेड अजोड, सानिमा जिआइसी, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र नेसनल इन्स्योरेन्सले पनि दोहोरो अंकको हाराहारीमा वृद्धि गर्दै बजारमा प्रतिस्पर्धा कायम राखेका छन् । विशेषगरी नेकोले ११ दशमलव ३७ प्रतिशत, युनाइटेड अजोडले ११ दशमलव ९५ प्रतिशत र सानिमा जिआइसीले १४ दशमलव ०१ प्रतिशतले व्यवसाय विस्तार गरेका छन् ।
सरकारी कम्पनी अझै कमजोर
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले १५ अर्ब ८३ करोड रुपैयाँ प्रिमियम संकलन गर्दै १४ दशमलव ८३ प्रतिशत वृद्धि गरेको छ । वृद्धि सकारात्मक भए पनि निजी कम्पनीहरूको तुलनामा यसको बजार हिस्सा सीमित रहेको छ ।
लघु बीमाले पनि थप्यो योगदान
निर्जीवन बीमा उद्योगको कुल प्रिमियममा चारवटा लघु निर्जीवन बीमकले पनि उल्लेखनीय योगदान दिएका छन् । नेपाल माइक्रो, प्रोटेक्टिभ माइक्रो, स्टार माइक्रो र ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीहरूले संयुक्त रूपमा १३ अर्ब १९ करोड रुपैयाँ बराबर प्रिमियम संकलन गरेका छन् ।
ग्रामीण क्षेत्र, साना व्यवसाय तथा न्यून आय भएका समुदायमा बीमाको पहुँच विस्तार गर्न लघु बीमा कम्पनीहरूको भूमिका बढ्दै गएको बीमा प्राधिकरणको तथ्यांक रहेको छ ।
प्रदेशगत रूपमा बागमती अग्रस्थानमा
निर्जीवन बीमा व्यवसायको प्रदेशगत वितरण हेर्दा बागमती प्रदेश स्पष्ट रूपमा सबैभन्दा ठूलो बजार बनेको छ । बागमतीमा मात्रै ३५ अर्ब ८० करोड रुपैयाँभन्दा बढी प्रिमियम संकलन भएको छ, जुन कुल उद्योगको दुईतिहाइ नजिक पुग्छ ।
त्यसपछि क्रमशः कोशी, लुम्बिनी, मधेश, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन् । औद्योगिक गतिविधि, सवारी साधनको संख्या, बैंकिङ पहुँच, व्यापारिक केन्द्र तथा पूर्वाधार विकासका कारण बागमती प्रदेशको हिस्सा अत्यधिक रहेको विश्लेषण गरिएको छ ।
मोटर र सम्पत्ति बीमाको वर्चस्व
प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बीमाको सबैभन्दा ठूलो हिस्सा मोटर बीमाबाट आएको छ । त्यसपछि सम्पत्ति, इन्जिनियरिङ, समुद्री, हवाई, कृषि तथा बाली, विविध र लघु बीमा रहेका छन् । यसले नेपालमा अझै पनि सवारी साधनसँग सम्बन्धित बीमाले निर्जीवन बजारलाई नेतृत्व गरिरहेको देखाउँछ ।
बीमालेख संख्या पनि उल्लेखनीय
गत आर्थिक वर्षमा निर्जीवन तथा लघु निर्जीवन बीमकहरूले संयुक्त रूपमा ३४ लाख ६७ हजारभन्दा बढी बीमालेख जारी गरेका छन् ।
निर्जीवन बीमा उद्योगमा अहिले १४ वटा कम्पनीबीच तीव्र प्रतिस्पर्धा रहेको छ । केही वर्षअघि भएका मर्जर तथा प्राप्तिपछि कम्पनीहरूको संख्या घटे पनि प्रतिस्पर्धा भने झन् बढेको छ । नयाँ प्रविधिमा आधारित सेवा, डिजिटल दाबी भुक्तानी, अनलाइन बीमालेख बिक्री, कर्पोरेट ग्राहक आकर्षण तथा शाखा विस्तार कम्पनीहरूको प्रमुख रणनीति बनेका छन् ।
प्रिमियम बढे पनि उद्योगले केही संरचनागत चुनौती सामना गरिरहेको छ । प्राकृतिक विपत्ति, बाढी–पहिरो, आगलागी, सडक दुर्घटना तथा ठूला दाबी भुक्तानीका कारण कम्पनीहरूको नाफामा दबाब पर्न सक्ने अवस्था छ ।