नेभिगेशन
अर्थतन्त्र

‘साउन १५ मा बिक्छ एक अर्बभन्दा बढीको दूध’

काठमाडौं । राष्ट्रिय खिर दिवसको पूर्वसन्ध्यामा नेपाल डेरी एसोसिएसनले आयोजना गरेको खिर प्रवद्र्धन कार्यक्रममा दुग्ध किसानलाई नै प्रमुख अतिथि बनाएर सम्मान व्यक्त गरेको छ । 
एसोसिएसनका अनुसार यस वर्ष साउन १५ अर्थात् राष्ट्रिय खिर दिवसका अवसरमा देशभर करिब एक करोड लिटर दूध खपत हुने अनुमान छ । उक्त परिमाणको दूध तथा त्यससँग सम्बन्धित दुग्धजन्य सामग्रीको प्रयोगबाट एक अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने हिसाब गरिएको छ । यसले दूध उत्पादक किसान, डेरी उद्योग, स्थानीय उत्पादन तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने एसोसिएसनको विश्वास छ ।
एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुग्ध किसान रामप्रसाद घिमिरे प्रमुख अतिथि बनेका थिए । प्रमुख अतिथि घिमिरेले गोठमा काम गरिरहेकालाई सम्मान गर्नु सम्पूर्ण किसानप्रतिको सम्मान भएको बताए । यसले दुग्ध उत्पादनमा संलग्न किसानको मनोबल बढाउने विश्वास उनले व्यक्त गरे ।
कृषि मन्त्रालयका सहसचिव जगन्नाथ तिवारीले डेरी क्षेत्रको प्रवद्र्धनका लागि एसोसिएसनले सञ्चालन गरेको अभियानको प्रशंसा गर्दै सरकारले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि आवश्यक सहकार्य र सहयोगलाई निरन्तरता दिने बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले महासंघले डेरी उद्योगसँग सम्बन्धित अभियानमा निरन्तर साथ दिँदै आएको उल्लेख गरे । 
साना तथा घरेलु उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङले दुग्धजन्य उत्पादनको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरिन् भने निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द घिमिरेले छुर्पी, घिउलगायत नेपाली दुग्धजन्य वस्तुको निर्यात प्रवद्र्धनमा महासंघले आवश्यक भूमिका खेल्ने बताए ।
कार्यक्रममा काठमाडौं इङ्लिस स्कुलका बालबालिकालाई खिर खुवाएर औपचारिक उद्घाटन गरिएको थियो । साथै, साना तथा घरेलु उद्योग महासंघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो । नयाँ बानेश्वरस्थित मौलिक भान्छाघरले साउन १५ मा नौ प्रकारका खिर तयार गरी उपभोक्तालाई उपलब्ध गराउने तथा आवश्यक परे घरमै पु¥याउने व्यवस्था मिलाइएको जानकारी पनि कार्यक्रममा दिइयो । राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ फागुन १५ गतेको निर्णयअनुसार हरेक वर्ष साउन १५ लाई राष्ट्रिय खिर दिवसका रूपमा मनाउने गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्