नेभिगेशन
दृष्टिकोण

जे गर्छौ आफ्नै नाममा गर, मेरो नाममा नगर

मेरा कमी, कमजोरीले देशलाई, इतिहासलाई, समाजलाई खासै अर्थ राख्दैन । त्यसले म र मेरो परिवार, आफन्तलाई असर पार्न सक्छ, तर तिमी व्यक्तिका नाममा राष्ट्रका प्रतिनिधि हौ । तिम्रा सकारात्मक वा नकारात्मक क्रियाकलाप र भूमिकाले देशको भविष्य र इतिहास बन्छ ।

लेण्डुप दोर्जेको कथा बिर्सने कुनै शासकलाई अधिकार छैन । निरोको इतिहास रोमले मात्रै होइन, शासकको मनोवृत्तिको संसारमा पनि उदाहरण बन्यो । इतिहासले राजनीतिक भूगोल छिचोल्छ । मुसोलिनी, हिटलरका कथा इटली र जर्मनीको होलोकष्ट मात्र रहेनन् ।

रोमानियाको निकोलाई चाउचेस्कु पनि त कम्युनिस्ट नै थियो नि । आम चुनावबाटै पेरुको फुजिमारो राष्ट्रपति बनेको थियो । तिमीले बुर्जुवाभन्दा बढी प्रगतिशील चरित्र राख्न सक्दैनौ भने कम्युनिष्ट भन्ने आधारै हुँदैन । तब पनि आफूलाई माक्र्सवादी–लेनिनवादी भन्छौ, माओवादी त अझ परको कुरा । हिजो के थियौ ? त्यो गम्भीर विषय होइन, आज के छौ ? यो मुख्य कुरा हो ।

जब अन्धविश्वास र रुढिवादलाई सांस्कृतिक पछ्यौरी ओढाएर प्रगतिशील भनिन्छ भने त्यो पाखण्ड हो । के प्रगतिशील र कम्युनिस्ट भन्ने वित्तिकै तिम्रा यथास्थितिवादी चिन्तन, रुढिवादी मान्यता, संस्कृति ‘संरक्षण’ भन्दै स्वीकार्ने कुरा माक्र्सवादी हुन्छ ? हुँदैनन् । त्यो पाखण्डको भारी हामीलाई नबोकाऊ, हामीलाई साक्षी नराख ।

‘तथ्यभन्दा भावना ठूलो हो’ भन्ने सोचले हाम्रो समाजमा अनेक गलत विश्वासलाई प्रश्रय दियो । साँचो मित्रता, साँचो मानवीयता त प्रमाणित सत्यमै अडिन्छ । कहिलेकाहीँ प्रष्ट बोल्दा कतिपयको भावना आहत हुन्छ, तर सत्य बोल्नबाट मेरो विवेकले सदा सचेत गराइरहेको हुन्छ ।

पूर्वाग्रहले बनाइएका धारणालाई पुष्टि गर्न मानिसहरू मिथ्या तर्क कोर्न तयार हुन्छन् । तिनीहरूले भावना, परम्परा र आस्था प्रयोग गरेर तर्कलाई दबाउन खोज्छन् । तर, प्रश्न उब्जिन्छ—त्यस्ता विश्वास कसरी पैदा हुन्छन ? किन मान्छे अन्धविश्वासी हुन्छन् ? र अन्धविश्वास र पाखण्डलाई किन ताली ठोक्छन् ? फेरि पनि कसरी मान्छे क्रान्तिकारी दाबी गर्छन् ? यो पाखण्डको रसायन के हो ? फेरि तब त म भन्छुः नट इन माई नेम, नट इन आवर हिरोज् नेम ।

तिमी सर्वज्ञ ठानेर अन्नसण्ड बकिरहन्छौ । के तिमीलाई अझै थाहा छैन—हरेकले भनेको र भन्न खोजेको कुरालाई एम आर आई गर्ने समाज भइसकेको छ । बुभ्, संसारमा कोही पनि सर्वज्ञ छैनन् । तिमी विधि र कानून समय र सोच आफनै निर्देशन अनुसार चलोस् भन्ने चाहन्छौ । 

प्राविधिकरूपमा चुनौती सामना गर्न खोज्छौ । तर सत्ता गुम्ला कि भनेर चिन्तित तिमी भयग्रस्त मनुवा हौ । त्यसैले आफूलाई ‘सबै कुरा जानकारी छ’ भन्ने भ्रममा राख्न सकें भने सुरक्षित हुन्छु भनी सोच्छौ । तिमीलाई सर्वज्ञ ठानेर थप्पडी बजाउनेहरू या त चाकरी गर्दै छन्, या तिमीलाई मूर्ख ठानेर व्यंग्य गर्दै छन् ।

तिमी मिथकलाई इतिहास बनाउन खोज्दै छौ । तिमीलाई यति पनि ख्याल छैन कि इतिहासले प्रमाण खोज्छ—प्रमाण जाँच्ने डीएनए र कार्बन–१४ जस्ता वैज्ञानिक आविष्कार भइसकेका छन् । पछुवालाई आवेगमा ल्याएर कमजोरलाई हेप्ने, शक्तिशालीका अगाडि लम्पसार पर्ने तिम्रो सुरक्षा र राष्ट्रवादको कवच हो ।

कुनै पनि देशको जागृत इच्छाशक्तिका लागि नेतृत्वसँग कस्तो नैतिक पूँजी र विनम्रता चाहिन्छ । कस्तो आदर्श छ ? भन्ने प्रश्न अत्यन्त महत्वपूर्ण हुन्छ । ‘भन्ने, गर्ने र देखिने’ मा अन्तर छ कि छैन ? यसलाई मिहिन तरिकाले समाजले नियाली रहेको हुन्छ ।

सत्ताको नशाले मानिसलाई आफू नै सर्वोच्च भन्ने भ्रम दिन्छ । यसले आत्मालोचना सकिएर पाखण्डतिर धकेल्छ । मोहन शमशेर र ज्ञानेन्द्र शाहले सत्ता गुमेको पत्तै पाएनन् । हिटलरले सोभियत सेना बर्लिन पुगेको थाहै पाएन । इतिहासलाई पोलेर, आफ्नै योगदान बढाएर, अरूको भूमिका घटाउनु स्वार्थी नेताहरूको पुरानो तरिका हो ।

इतिहास अत्यन्तै क्रूर शिक्षक हो - यसबाट शिक्षा नलिनेहरूलाई इतिहासले कठोर दण्ड दिन्छ । राष्ट्रिय जोश र स्वाभिमानका लागि नेतृत्वको राजनीतिक संस्कार निर्णायक हुन्छ । नेताहरू भिडबाट हाँकिनुहुँदैन, लोकप्रियतावादको मोहबाट पनि जोगिन सक्नुपर्छ ।

अप्रमाणित हावादारी भनाइहरू क्षणिकरूपमा ठट्टा लाग्लान्, तर त्यसले नेतृत्वप्रतिको विश्वास गुमाउँछ । विश्वास गुमेपछि दण्ड केवल पार्टीलाई होइन, सम्पूर्ण देशले भोग्नुपर्छ । 

हरेक राष्ट्रको राष्ट्रिय प्रतिबद्धता संविधानले निर्धारण गर्छ । शक्तिपृथकीकरणको सिद्धान्तले शासन प्रणालीमा ‘चेक एन्ड ब्यालेन्स’को संयन्त्र बनाउँछ । न्यायिक र अर्धन्यायिक निकायहरूले स्वतन्त्ररूपमा काम गर्न पाएका छन् वा सकेका छैनन् ? यही मानकले राष्ट्रको चरित्र कोर्छ । तर तिमी संख्याको बलमा रजाइ गर्दै छौ । सत्ताको केन्द्रीकरण गरेको कस्ले देखेका छैनन् र ?

तिमी प्रतिक्रिया निर्देशित शासक रहेछौ, त्यसैलाई लोकतन्त्रको अभ्यास भनिरहेका छौ । सरकार र अदालतले हाम्रो राजनीतिक र प्रशासनिक भ्रष्ट मानसिकता जगजाहेर गरिसकेका छन् । यसले नेतृत्वको नैतिक धरातल कति खस्किएको छ भन्ने यथार्थ प्रष्टिएको छ ।

Narendra-J-Peter-1755402690.jpg
नरेन्द्रजंग पिटर

सावधानः यही प्रक्रिया बढ्दै जाने हो भने लोकतन्त्रकै जगमा टेकेर तिमी लोकतन्त्रको हत्यारा बन्न सक्छौ । पार्टीभित्र प्रश्न उठ्न थालेपछि तिमी स्वामिभक्तिको परीक्षा लिन्छौ—को आफ्ना, को पराया भनेर छुट्याउँछौ । मुद्दा गम्भीर बन्न थालेपछि बहसलाई अन्यत्र मोड्न कोसिस गर्दैछौ ।

पाखण्डीहरू इतिहास विर्सन चाहान्छन् । राजनीतिक संरचनामा टिक्नकै लागि सम्झौता गर्नुपर्छ, पुरानो आदर्श छाड्नुपर्छ, र इतिहासलाई आफूअनुकूल पुनर्लेखन गर्नुपर्छ । जनताले इतिहासलाई आलोचनात्मक रूपमा नपढ्ने, नसम्झिने, नसोध्ने प्रवृत्तिले नेताहरूलाई अझ बढी पाखण्डी बन्न सजिलो बनाउँछ । आलोचनाको मृत्युले पाखण्डलाई वैधता दिन्छ ।

म कसैलाई खुशी पार्नका लागि अन्धविश्वासयुक्त कुरालाई समर्थन गर्न सक्दिन । भय र लोभले पनि विवेक बन्धकी राख्न सक्दिन । व्यक्तिगत लिनुदिनु केही छैन । तिमी अशहिष्णु हौ—सिल्बर तात्याझैं सत्ताको लाठो बजारेर प्रतिक्रिया दिन्छौ । तिम्रो शब्दकोशमा कानून, विधि, प्रक्रिया र अभ्यासको कुनै अर्थ रहेनछ ।

समयका शिकारीहरू छेपारोभन्दा छिटो रंग फेरेर पहिलेका विचार त्याग्छन्, ‘उहिलेका कुरा खुइले’ भन्दै इतिहास रछ्यानमा मिल्काउँछन् । हो, समयसँगै विचार र विश्वास फेरिन्छन् । तर, प्रश्न हो—फेरिने क्रम अग्रगमन हो कि पश्चगमन ! 

मानवीकरण हो कि अमानवीकरण ! कतिपयले विचार र आदर्श त्याग्छन् । कसैको विश्वास फेरिन्छ, कसैलाई थकान, विचलन वा प्रलोभनले फसाउँछ । अन्तर्निहित वासना जागृत गराएपछि मान्छेलाई सजिलै किन्ने, बेच्ने, पथभ्रष्ट पार्ने खेल सहजै हुन्छ । तिम्रा पाखण्ड एकाएक पलाएका होइनन् । 

तिमीले विचार र विश्वासको मूल्य तिरेका थियौ, तर सत्ता र अवसरको मोहले तिमीलाई पाखण्डी र अवसरवादी बनायो । सत्ता पाउने बित्तिकै मानिसले आफ्ना विगतका आदर्शभन्दा सत्ताको निरन्तरतामा प्राथमिकता दिन थाल्छन् । जसरी सामान्य व्यक्तिलाई पैसाले फेरिदिन्छ, त्यस्तै नेताहरूलाई सत्ताले पाखण्डी बनाइदिँदो रहेछ ।

विप्लव वा प्रगतिशीलताको समयमा मानिसले यथार्थभन्दा बढी सपनालाई अँगालेको हुन्छ । जब व्यवहारमा लाग्नुपर्छ । व्यवहारमा उतार्न नसक्दा ‘पाखण्ड’ प्रकट हुन्छ ।
इतिहासलाई पोलेर, आफ्नै योगदान बढाएर, अरूको भूमिका घटाएर देखाउनु स्वार्थी नेताहरूको पुरानो तरिका हो । यसैले वैधतालाई बल पुर्‍याउँछ भन्ने उनीहरूको विश्वास हुन्छ । तर लोभी, पापी पछुवाको थपडी जनसमर्थन हैन भन्ने कुरा पाखण्डी बुझ्दैनन् ।

मनोविज्ञानका अनुसार, सत्ताको नशाले मानिसलाई आफू नै सर्वोच्च भन्ने भ्रम दिन्छ । यसले आत्मालोचना सकिएर पाखण्डतिर धकेल्छ । । मोहन शमशेर र ज्ञानेन्द्र शाहले सत्ता गुमेको पत्तै पाएनन् । हिटलरले सोभियत सेना बर्लिन पुगेको थाहै पाएन ।

रवर्ट मुगाबे स्वतन्त्रको मसिहाबाट खलनायक बनेको ३७ वर्ष सम्म जिम्वावेमा राज गेर । ९३ वर्षमा पनि सत्ताप्यास नहटेर कान्छी श्रीमतिलाई सत्ता हस्तान्तर गर्न खोजेपछि सहयोद्धाले नै ९३ वर्षको उमेरमा गलहत्याउनुपर्यो । पार्टीको विधान अनुकूल बनाए, संविधानमा मनमौजी हेरफेर गरे ।

वास्तवमा तिम्रा पाखण्ड नयाँ होइनन् । ती सत्ताको मोहसँगै पलाएका हुन् । सत्ता पाउनेबित्तिकै आदर्शभन्दा निरन्तरतामा प्राथमिकता दिने बानी तिमीमा देखियो । जसरी पैसाले सामान्य मानिस बदलिन्छ, सत्ताले नेता बदलिन्छ पार्टीभित्रै नेतृत्वमा चुनौती आउन थालेपछि स्वामिभक्तिको परीक्षा लिन थालिन्छ—को आफ्ना, को पराया छुट्याइन्छ । मुद्दाहरूले गम्भीर बहस निम्त्याएपछि त्यसलाई अन्यत्र मोड्न फेरि अर्को चतुर खेल सुरु हुन्छन् ।

पाखण्ड र अहंकार अहिलेको तिम्रो परिचय हो । त्यसलाई मौलिकरूपमा स्पष्ट स्वीकार । तर, नट इन माई नेम, नट इन आवर हिरोज् नेम । जे गर्छौ गर तर आफ्नै नाममा गर ।

मान्छे धार्मिक, क्रान्तिकारी, आन्दोलनकारी, डरले ग्रसित र परिवर्तनशील—सबै एकैचोटि हुन सक्छ । तर साँचो बौद्धिकता भनेको यी सबैलाई विवेक र आत्मसमीक्षाको दृष्टिले नियाल्नु हो । भावना पगालेर सत्यतर्फ पुग्न सकिन्न; तथ्यलाई प्रमाणमा अड्याएर मात्र पुगिन्छ ।

भूपरिवेष्ठित दक्षिण अफ्रिकी देश र त्यहाँका युवा राष्ट्रपति इब्राहिम टाउरेले निराश अफ्रिकामा स्वभिमान जोगाए भन्ने कुरा तिमीहरूका अध्ययन सामग्रीमा पर्दैन ।
त्यसैले हिजोका प्रगतिशील र यथार्थवादी पात्रहरू सत्ता पाउने बित्तिकै पाखण्डी बन्न पुग्छन् । 

किनभने सत्ता, स्वार्थ, संरचना र समाजको सामूहिक बिर्सनाले मिलेर उनहिरूलाई पाखण्डी बनाउँछ । तर वास्तवमा पुराना मूर्खता त्यागेपछि पुनर्जन्म भएर नयाँ विवेक अंगालिन्छ । मान्छे एकैचोटि धार्मिक, क्रान्तिकारी, आन्दोलनकारी, डरले ग्रसित र परिवर्तनशील बन्न सक्छ ।

तथ्यलाई लत्याएर, भावना पगालेर सत्य कहाँ पुग्न सकिन्छ र ? तर स्मरण रहोस् जे गर्छौ गर, तर आफ्नै नाममा गर नट इन माई नेम, नट इन आवर हिरोज् नेम ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्