नेभिगेशन
दृष्टिकोण

निर्वासित हुनुको पीडा

भूटानी शरणार्थी तथा लेखक बलराम पौड्यालको पुस्तक ‘पर्दापछाडिको भुटान’ उनको मातृभूमिको इतिहासको खोजपूर्ण लेखन हो । यो पुस्तक देशभक्तिपूर्ण भावनाले ओतप्रोत छ ।

उनकै शब्दमा मातृभूमिप्रतिको उनको श्रद्धा यसरी अभिव्यक्त भएको छ, ‘सबैलाई आफ्नो जन्मभूमि प्यारो लाग्छ । मलाई पनि मेरो जन्मभूमिप्रति अगाध प्रेम र श्रद्धा छ । मैले जन्म लिएको माटो भुटान हो । मैले यही माटोमा वहेको वायुमा पहिलो श्वास लिएको हूँ । यहीँको माटोमा उम्रिएको पानी कलकल पिएको छु। यहीँको उर्वर माटोबाट उत्पादित अन्न, फलफूल र कन्दमूलहरू सेवन गरेको छु र यहाँको स्वच्छ वातावरणमा खेल्दै र रमाउँदै हुर्किएको छु।’

उनी विगत तीन दशकदेखि नेपालमा शरणार्थी जीवन बिताइरहेका छन् । अब भुटानी शरणार्थीहरू भारत र नेपाल हुँदै विश्वका प्रमुख देशमा फैलिसकेका छन् । यही प्रक्रिया र विस्तारको कथालाई पर्दापछाडिको भुटानले समेटेको छ । उनको लेखनको अर्को महत्त्वपूर्ण पक्ष बलपूर्वक मातृभूमिबाट गलहत्याइएका निर्वासितहरूसँग ऐक्यबद्धता जनाउनु हो, निर्वासितहरूको व्यथा र संघर्षलाई उजागर गर्नु हो ।

parda-pachhadi-Bhutan-1758416143.jpgसाथै पुस्तकको अर्को महत्त्वपूर्ण पक्ष चाहिँ पुनर्वासपछिको पहिचान संरक्षणमा जुटेका समाजसेवीहरूलाई सम्झनु र उनीहरूको प्रयत्नलाई सबै सामु प्रस्तुत गर्नु पनि हो । पुस्तक आद्योपान्त पढ्दा भुटानी जनताको प्रजातान्त्रिक आन्दोलनलाई प्रस्ट्याइएको छ । इतिहासलाई व्यवस्थितरूपमा प्रस्तद्रत गरी निर्वासितहरूको संघर्षलाई उजागर गरिएको भेटिन्छ । उनी आफैं पनि संघर्षमा होमिएको योद्धा भएको हुँदा पुस्तकमा आफ्नो भूमिका पनि उल्लेखित छ ।

पुस्तकको एउटा अध्यायमा शरणार्थी समस्या समाधानका लागि भएको असफल वार्ताक्रम उल्लेख छ । यहाँ नेपाल–भुटान द्विपक्षीय वार्ता असफल हुनुका कारण, वार्ताका क्रमलगायत अन्तर्राष्ट्रिय समुदायले चासो दिएर पनि नागरिकमाथि भेदभाव गर्ने भुटानी सरकारलाई पर्याप्त दबाब दिन नसकेको कुरा स्पष्ट पारिएको छ । कूटनीतिक मामिला सम्बन्धमा पनि व्यापक चर्चा गरिएको छ ।

भुटानी शरणार्थी सम्बन्धमा ईयू र अमेरिकी सरकारको भूमिका र शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास गराइएको विषय गम्भीरताका साथ उठान भएको छ । भुटानीहरूलाई स्वदेश फर्काउने कुरामा अन्तर्राष्ट्रिय समुदायको पर्याप्त दबाब नभएको र यस मुद्दामा भारतले अभिरुचि नलिएसम्म भुटानको समस्या समाधान नहुने विषय पनि उनले इंगित गरेका छन् ।

निर्वासितहरूको दुर्दशा मात्र नभएर देशभित्र संघर्ष गरिरहेका योद्धाका कथा, जेलमा थुनिएका राजबन्दीहरूका व्यथा र बाँकी रहेका शरणार्थीको समस्यालाई बेवास्ता नगरियोस् भनी खबरदारी हुनु राम्रो पक्ष हो भने एक जना मात्र शरणार्थी बाँकी रहँदासम्म समस्या समाधान भएको मान्न नसकिने अडान पनि स्पष्ट पारिएको छ ।

भुटानी शरणार्थी समस्यालाई शान्तिपूर्ण कूटनीतिक पहलबाट समाधान खोज्न नेपाल सरकारले भुटानसँग सुरु गरेको द्विपक्षीय परामर्शका दौरान म आफैँले पनि धेरै पटक भुटानी राजालाई भेटेको छु। विडम्बना, त्यहाँका राजा स्वयं नै नेपालीभाषी नागरिकलाई देश निकाला गर्न कटिबद्ध भएको हुँदा कुनै प्रगति हासिल हुन सकेन ।

समाज र स्वदेश प्रेमबाट ओतप्रोत तर तेस्रो मुलुक पुनर्वास हुन बाध्य भुटानी नागरिक नयाँ ढंगको पहिचानको संघर्ष र नैतिक दबाबमा जुटिरहेको विषय पनि समेटिएको हुँदा वर्तमान संघर्षको प्रतीकात्मक ‘ऐना’ का रूपमा यथार्थपरक विवरण समेटिएको यस पुस्तकलाई अत्यन्तै उपयोगी पुस्तकका रूपमा लिन सकिन्छ । वास्तविक भुटान जान्न चाहनेहरूका लागि यो पुस्तकले पर्दा उघार्ने काम गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्